काँडेतारले घेरिएको ३ हजार वर्गमीटर क्षेत्रफल ओगटेको सुरक्षा घेराभित्रको दैलेख कारागार जिल्ला सदरमुकामको वाइरोडको बाटो छेउमा छ । जिल्ला प्रशासन कार्यालय र कारागारबीचको मूल सडक हुँदै दिनहुँ सयौँ यातायातका साधनहरू ओहोरदोहोर गर्छन् । यात्रुहरू सबैजसोले कारागार भवन देख्छन् ।
यो नयाँ कारागार भवनमा ०७१ कात्तिकबाट मात्रै कैदीबन्दी बस्ने व्यवस्था मिलाइएको हो । पूर्वी मोहडामा फर्किएकोले अचेल हिउँदको बेला बिहान सातै बजे पारिलो घाम लाग्ने भएकाले दैलेख कारागारका कैदीबन्दीहरू खुस देखिन्छन् ।
क्षमताका हिसावले ८० जना मात्र राख्न सकिने भए पनि कारागार व्यवस्थापनको मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउने प्रयत्नले एक–तिहाई बढी अर्थात १ सय २२ जना कैदीबन्दी हुँदा पनि बस्न खान सहज नै बन्न पुगेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासन र कैदीबन्दीहरूको आफ्नै तत्परताले पनि वातावरण सहज बनेको हो । कैदीबन्दीहरूकै अग्रसरतामा कारागारभित्र शान्ति सुव्यवस्था र मित्रभाव विकासका लागि बिहानै योगा अभ्यास, धार्मिक पूजाआजा, दिउँसो कामकाज र सीप इलममा व्यस्त गराउन थालिएको छ ।
अशक्त र बिरामी बाहेक सबै जना बिहान ५ बजे नै पुस्तकालय कक्षमा जम्मा भएर योगा गर्छन् । एक–डेढ घण्टा योगा चल्छ । त्यसपछि झिसमिसे उज्यालो हुँदै गरेको हुन्छ, घण्ट बजाइन्छ र पूजाआजा चल्छ ।
अनि बिहान झण्डै साढे सात बजे चौरमा घाम लाग्ने बित्तिकै कैदीबन्दीहरू घाम ताप्दै गफिन थाल्छन् ।
घाम ताप्दै गर्दा पालो तोकिएकाहरूले खाना तयार पारिसकेका हुन्छन् । बिहान ९–१० बजे खाना खाइसकेपछि ११ बजेदेखि इलम जानेहरू आफ्नै धुनीपानीमा लाग्छन् ।
अचेल कारागारभित्रको चौरलाई चौडा गराउने काम चलिरहेको छ, यो काम गरेर ज्याला पाइने त होइन तर आफैँलाई खेल्न सजिलो हुन्छ भनेर स्वतःस्फूर्त तरिकाले कैदीबन्दी ढुङ्गामाटोमा धसिएका हुन्छन् । दिउँसो त्यति काम सकेपछि इच्छुक कैदीबन्दी भलिबल खेल्छन्, अरूले ‘हुटिङ्ग’ गर्दै मनोरञ्जन लिइरहेका हुन्छन् ।
सीप इलम जानेहरू दिउँसोको समयमा ढाका बुनाई, मुडाबुन्ने, सिलाइकटाई, स्वेटरलगायतका ऊनबाट बनाइने कपडा बुन्न जुटेका हुन्छन् । यो बेला कोही बुद्धिचाल, क्यारेमबोर्डलगायतका खेल खेल्दै हुन्छन् त कोही पुस्तकालयमा पुस्तक पढ्दै हुन्छन् ।
नयाँभनवमा सरे लगतै सुरू भएको यो पुस्तकालय कोठा ठूलो हल भएको कारण बिहान गरिने योगा अभ्यास, बेलाबेला गरिने तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू पनि यही सभाहलमा हुन्छन् ।
पुस्तकालयका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोसेकलगायतका संस्था र विभिन्न निकायबाट पुस्तकहरू प्राप्त भएका हुन् ।
यहाँ दैलेख उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको ३२ इञ्चको ठूलो टेलिभिजन सेट पनि राखिएको छ । देश विदेशमा भएका घटना–दुर्घटना, मानव अभिरूची विषयवस्तु, मनोरञ्जन र ज्ञानगुनका कुरा सिक्न कैदीबन्दीहरूलाई टेलिभिजनले सजिलो पारेको छ ।
कारागारमा थुनिएका कैदीबन्दीहरूलाई सकारात्मक हुन, संयमित हुन र असल चालचलनको विकास गर्न उनीहरूलाई भावनात्मक हिसावले तयार पार्न मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउन जेलर जीतबहादुर खत्रीको क्रियाशीलताले सबै क्षेत्रका सहयोग जुटेको छ ।
जेलर खत्रीले कारागार सुरक्षा चुनौति कम गर्न, उद्यम र उत्पादनशील क्रियाकलापमा सक्रिय रहन बानी पार्नको लागि कैदीबन्दीहरूलाई योगा, धार्मिक क्रियाकलापलगायतका काममा लगाइएको बताए ।
परिबन्ध वा परिवेशले कुनै घटना भएर थुनामा परेका कैदीबन्दीहरूलाई सधैँ अपराध मात्र गर्छन् होला भन्ने समाजको बुझाई चिर्दै सकारात्मक भावनाको विकास, रचनात्मक कामको सिकाई र कैद सकिएपछि समाजमा पुनस्र्थापित हुन सहजताका लागि कारागारभित्र सरस्वतीको मन्दिर बनाउन लागिएको कैदी नाइके कृष्ण खत्रीले सुनाए ।
धार्मिक शिक्षा लिन चाहने कैदीबन्दीहरूको रूचीप्रति खुशी व्यक्त गर्दै मन्दिर निर्माणमा नगरपालिकाले सहयोग गर्ने नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले वचन दिएकी छिन् ।
जेलर खत्रीकै आग्रहमा पतञ्जली योग समितिका शङ्कर थापा, नरेश्वर जैसीलगायतका योग शिक्षकले निशुल्क सहयोगमा योगा अभ्यास गराएपछि अभ्यासकै क्रममा सिकेर अहिले कैदी नाइके मानबहादुर नेपालीले योगा सिकाइरहेका छन् ।
यी धेरै सकारात्मक प्रयासहरू पुस्तकालय, मन्दिर बनाउने काम पुरूष बन्दी गृहतर्फ मात्र गरिएका छन् । महिला र पुरूषसँगै राख्न नमिल्ने भएकाले त्यहाँ भइरहेका क्रियाकलापमा महिला कैदीबन्दीहरू सहभागी हुन पाएका छैनन् । नयाँ कारागारमा महिला र पुरुष फरकफरक भवनमा राखिएका कारण देखभेट समेत हुँदैन ।
अनुगमन तथा निरीक्षणमा आउनेहरू कोही महिला बन्दी गृहमा गए मात्र भेट हुन्छ । ‘तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरू हुँदा पनि महिलाहरूका लागि भनी छुट्टै कार्यक्रम भए मात्र महिलाले अवसर पाउँछन् । नत्र यो सुविधा आएको छ भन्ने सुनेर बस्नु परेको छ ।’–महिला नाइके गोमा पुलामी मगरले गुनासो गरिन् ।
दैलेख कारागारमा अहिले ८९ कैदी, १९ जना मुद्दा किनारा नभइसकेका बन्दीहरू समेत गरी १ सय ८ जना पुरुषहरू छन् । १२ कैदी र २ जना थुनुवा समेत १४ जना महिला बन्दी छन् । कैदीबन्दी महिलाहरूका साथमा दुई जना तीन वर्ष मुनिका आश्रित बालक पनि संरक्षणमा छन् ।