INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षमा बालिका बलात्कार तथा दुर्व्यवहारका ५० ओटा घटना

सप्तरीमा जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा ३६ जना बालिका बलात्कार तथा १४ जना बालिका यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन् ।

एक वर्षको अवधिमा सप्तरीमा ३५ ओटा घटनामा ३६ जना बालिका र १४ ओटा यौन दुर्व्यवहारका घटनामा १४ जना बालिका पीडित भएको भन्दै उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्कअनुसार बलात्कार घटनामा ११ वर्ष मुनिका १२ जना बालिका र यौन दुर्व्यवहारबाट १२ वर्ष मुनिका सात जना बालिका पीडित भएका देखिएको छ ।

बलात्कारका आरोपित ४५ जना र यौन दुर्व्यवहारका आरोपित १७ जना रहेका छन् । बलात्कारका आरोपित सात जना १६ वर्ष मुनिका छन् भने २४ जना १८ देखि २२ वर्षका रहेका छन् । यौन दुर्व्यवहारका घटनामा १० जना आरोपित पनि १८ वर्ष मुनिका रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

बालिका बलात्कारका आरोपितमध्ये १७ जना पुर्पक्षका लागि कारागारमा थुनामा र दुई जना हालै गिरफ्तारीमा परेका छन् ।

तीन जना आरोपित जिल्ला अदालतको आदेशमा र एक जना आरोपित उच्च अदालत राजविराज इजलाशको आदेशमा रिहा भएका छन् ।

एक जना आरोपित धरौटी राखी तारेखमा रिहा भएका छन् । गिरफ्तार हुन नसकेका सात जनाविरूद्धको मुद्दा जिल्ला अदालतमा दर्ता गर्न बाँकी छ भने गिरफ्तार हुन नसकेका अन्य ११ जनाविरूद्ध जिल्ला अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

बलात्कारको घटनामा आरोपित १२ वर्षीय एक बालक संरक्षकको जिम्मामा तथा १२ र १३ वर्षीय दुई बालकलाई कैदसजाय गरी कैद स्थगनको फैसला गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिए ।

यसैगरी यौन दुर्व्यवहार घटनाका १७ जना आरोपितमध्ये एक जनालाई कैदसजायको फैसला भएको छ भने पाँच जना पुर्पक्षका लागि थुनामा र तीन जना बाल सुधार गृहमा छन् ।

तीन जना धरौटीमा रिहा भएका छन् भने दुई जना फेला नपरेको प्रहरीले जनाएको छ । एक जनाविरूद्ध वारेण्ट जारी भएको छ । १३ वर्षीय एक बालकलाई संरक्षकको जिम्मा लगाइएको छ भने एक जना हालै गिरफ्तार भएका छन् ।

घरपरिवारकै सदस्य वा छिमेकीहरूबाट सुस्त मनस्थितीकी र स–साना बालिकालाई बलात्ककार गरेका घटनामा यो वर्ष निकै बृद्धि भएको छ ।

प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने भएकाले अपराधिहरूले अबोध बालिकाहरूलाई प्रलोभन, डर, त्रासमा पारेर यौन दुर्व्यवहार तथा बलात्कार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टको भनाई छ ।

अन्य

भिडियो