सुरुङगा नगरपालिका–३ भुसिमहुलियास्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–१० मटलेश्वरका ३८ वर्षीय रतन सदालाई ०८२ कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले घरायसी विवादका क्रममा कात्तिक ११ गते दिउँसो पत्नी सुनिताको टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाए । घाइते सुनितालाई स्थानीयहरूले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएकोमा थप उपचारका लागि कात्तिक १२ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो ।
तर, उपचार खर्च अभावका कारण सुनितालाई कात्तिक १६ गते घर फर्काइएपछि कात्तिक १७ गते साँझ मिर्चैया नगरपालिका–१० मटलेश्वरस्थित घरमा मृत्यु भएको परिवारजनले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कात्तिक १७ गते साँझ प्रादेशिक अस्पताल लहान लगिएको थियो । कात्तिक १८ गते पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा दिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले बताउनु भयो ।