INSEC Online

📅 २०८३ जेष्ठ २१

केन्द्रीय कारागार तथा अन्य कारागारहरुबाट भागेका कैदीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटहरूले गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेमा सियारी गाउँपालिका– ३ रुपन्देही घरभई केन्द्रीय कारागार जगनाथदेवलबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी ४९ वर्षीय सिताराम यादव, कोटहीमाई गाउँपालिका– ३ का बलात्कार मुद्दाका २४ वर्षीय बाबुराम पासी, गैडहवा गाउँपालिका– ९ का लागुऔषध मुद्दाका प्राितवादी २१ वर्षीय निरुमाया मल्लाह, सियारी गाउँपालिका– ४ का ३५ वर्षीय धर्मेन्द्र लोध, सोही ठाउँकै ४७ वर्षीय गनपत लोध, बुटवल उपमहानपा– ६ की ४५ वर्षीय जानकी वि.क, बुटवल उपमहानपा– २ का २८ वर्षीय तिलु गैरे, चोरी मुद्दाका भारत गोरखपुर घरभई नवलपरासी कारागारका २२ वर्षीय प्रितम कुमार हरिजन, कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ओमसतिया गाउँपालिका ४ भई नख्खु कारागारका ४१ वर्षीय गोरख यादव रहेका छन् ।

त्यसैगरी कपिलवस्तु बुद्धभुमी नगरपालिका– १ घरभई बलात्कार मुद्दामा केन्द्रिय कारागारमा रहेका २७ वर्षीय सागर खडका, सैनामैना नगरपालिका– २ घरभई बलात्कार मुद्दामा जिल्ला कारागार मकवानपुरमा रहेका ३१ वर्षीय क्षेत्र बहादुर थापा, साउथ अफ्रिका घरभई केन्द्रिय कारागारमा रहेका लागुऔषध मुद्दाका प्रतिवादी ३३ वर्षीय मारलेस वाच लेनोहोरिष्ट र गैडहवा गाउँपालिका– ६ घरभई केन्द्रिय कारागारका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ६५ वर्षीय पूर्णतवासी लोनिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले बताउनुभयो ।

डिएसपी सापकोटाका अनुसार केन्द्रीय कारागार काठमाडौँ, जिल्ला कारागार मकवानपुर, नवलपरासी कारागार र नख्खु कारागारबाट भागेका बलात्कार, कर्तव्य ज्यान, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी हरुलाई जिल्लाका विभिन्न स्थानबाट गिरफ्तार गरिएका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको बताउनुभयो । आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी नेपाल र भारतको सीमा हुदै भारतमा भाग्न सक्ने भएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ ।

मुख्य नाकामा मात्र नभई भारत पस्न सक्ने सम्भावित स–साना नाकामा पनि निगरानी बढाइएको र भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको डिएसपी सापकोटाले बताउनुभयो ।

यस अघि पनि प्रहरीले देशका विभिन्न कारागारबाट फरार रहेका १४ जना कैदीलाई गिरफ्तार गरी सम्बन्धित कारागारमा बुझाएको थियो ।

रिमा बिसी

अन्य

भिडियो