INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का र सिन्धुली कारागारबाट भागेका कैदी गिरफ्तार

जेनजी आन्दोलनको समयमा ०८२ भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल र जिल्ला कारागार, सिन्धुलीबाट भागेका धनपालथान गाउँपालिका–३ सोराभागबाट ३९ वर्षीय उपेन मण्डललाई प्रहरीले मोरङमा गिरफ्तार गरेको छ ।

मोरङ, धनपालथान गाउँपालिका–३ सोराभागका ३९ वर्षीय मण्डल र सुनसरी, इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

बलात्कार मुद्दामा दोषी ठहर भएका मण्डल जेनजी आन्दोलनका बेला ०८२ भदौ २४ गते जिल्ला कारागार, सिन्धुलीबाट भागेका थिए ।

जिल्ला अदालत मोरङले उनलाई बलात्कार मुद्दामा ८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । सात वर्ष कैद सजाय भुक्तान गरिसकेका मण्डल भदौ २४ गते अरु कैदीबन्दीसँगै कारागारबाट भागेका थिए ।

जिल्ला कारागार मोरङबाट स्थानान्तरण गरेर मण्डललाई सिन्धुली कारागार पठाइएको थियो ।

सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार, झुम्काबाट भागेका इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाललाई स्कुटर चोरी गर्दागर्दै प्रहरीले गिरफ्तार गरेको छ ।

विराटनगर महानगरपालिका–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका जैसवाललाई विराटनगर उपमहानगरपालिका–१६ दरैयाबाट असोज ३० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुँडालले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले असोज ३० गते चेकजाँचका क्रममा शंका लागेपछि स्कुटरलाई नियन्त्रणमा लिएको थियो । उक्त स्कुटरको कागजपत्र नभएको र सोधपुछका क्रममा जैसवाल झुम्का कारागारबाट भागेको पत्ता लागेको डिएसपी चुँडालले बताउनु भयो ।

जैसवाल यसअघि पनि मोटरसाइकल चोरी काण्डमा गिरफ्तारीमा परेका थिए । चोरी मुद्दामा जिल्ला अदालत, सुनसरीले दोषी ठहर गर्दै ०८२ जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको थियो ।

अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनी अन्य कैदीबन्दीसँगै भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए ।

विराटनगरबाट पनि स्कुटर चोरी गरेर भारततिर लैजाँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रबाट जैसवाललाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

जैसवालविरुद्ध मोरङ प्रहरीले चोरी मुद्दा चलाउने तयारी गरेको छ । त्यसपछि बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाइने प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो