मानसिक सन्तुलन गुमाएकी ३३ वर्षीया सुनिता बोटेलाई उनका पतिले नीलकण्ठ नगरपालिका–१२ पशुपति मन्दिर नजिकैको ग्यारेजमा हातगोडा बाँधेर उनी आफू ग्यारेजमै मजदुरी गर्ने गरेको पाइएको छ ।
नवलपरासीको बाघखोर घर भई धादिङमा मजदुरी गर्न आएका छनबहादुर बोटेले गरिबीका कारण उपचार खर्च अभावमा पत्नीलाई बाँधेर राख्नुपरेको बाध्यता बताए । यसरी बाँधेर राख्नु पर्ने गरी मानसिक समस्या आएको एक वर्ष भएको उनले बताए । उनका १३, ६ र ४ वर्षीया तीन छोरीहरू छन् ।
आफूले मजदुरी गरेमात्र खान पाइने भएकोले उपचार गर्न नपाएपछि बाँधेरै राखेर मजदुरी गर्नु परेको उनले बताए । एक वर्ष अघिदेखि नै पति पत्नी सो ठाउँमा मजदुरी गर्दै आइरहेका थिए ।
मजदुरीकै क्रममा रक्सी खाने बानी परेको र रक्सी खाने बानीसँगै मानसिक रूपमा विक्षिप्त भएर हिँड्ने, सुरबेसुरका कुरा गर्ने, जथाभावी हिँडेर लड्ने खाना नखाने, जसलाई पनि गाली गर्ने जस्ता व्यवहार देखाउँदै आएकीले राति घरमा समेत बाँधेर राखेर अरू परिवार सुत्ने गरेको उनले बताए ।
आफूले मात्र कमाएर परिवार पाल्नु पर्ने भएपछि पत्नीको उपचार गर्न नसकेकोले साहुको मोटर ग्यारेजमा काम गरेर बच्चाहरू र पत्नी पालिरहेको बोटेले बताए ।

