INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि निर्वाचन आयोगले असोज ९ गतेदेखि ०८२ कात्तिक ३० गतेसम्म मतादाता नामावली सङ्कलन थालेपछि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएका छन् ।

नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ असोज ८ गते संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै निर्वाचनको तयारी आयोग लागेको छ ।

सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन समय थप गरेपछि पश्चिम नवलपरासी जिल्ला निर्वाचन कार्यालय, परासीमा नाम दर्ता गराउनेको उपस्थिति उल्लेख्य देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामकरण लोनियाका अनुसार ०८२ असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा ७ सय ६९ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गर्नेमा महिला २ सय ५३ र पुरुष ५ सय १६ जना रहेका छन् । विवरण सच्चाउनका लागि २६ पुरुष र पाँच महिलाले निवेदन दिएको र ठाउँ सारी पाउँ भनी ४० महिला र १४ पुरुषले निवेदन दर्ता गराएको सूचना अधिकारी लोनियाले बताउनु भयो ।

नारायाण पराजुली

अन्य

भिडियो