जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार रहेका छन् । कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार कास्की कारागारमा आन्दोलनअघि ७ सय ७३ जना कैदीबन्दी रहेका थिए । तीमध्ये महिलाको ब्लकमा ३५ जना र पुरुष ब्लकमा ७ सय ३८ जना थिए । प्रहरीले फेला पारेका र स्वेच्छाले फर्किएका गरी ५ सय २१ जना कारागार फर्किए पनि २ सय ७० जनाको अझै खोजी जारी रहेको शर्माले बताए ।
‘कारागार प्रशासनले फरार कैदीबन्दीलाई स्वेच्छाले फर्कन पटक–पटक अनुरोध गरेको छ,’ शर्माले भने, ‘तर धेरैजना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीमार्फत खोजी कार्यलाई तीव्र बनाइएको छ ।’ उनका अनुसार फरारमध्ये अधिकांश जबरजस्ती करणी, लागूऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारी सम्बन्धी मुद्दा, बालयौन दुराचार, अभद्र व्यवहार र कीर्ते जस्ता मुद्दामा जेल चलान भएका छन् ।
त्यस्तैगरि, जेनजी आन्दोलनका क्रममा पोखराको ग्यारजातीस्थित बाल सुधार गृहबाट समेत १ सय ९ जना बालक भागेका थिए । तीमध्ये हालसम्म ९६ जना फर्किएका छन् भने केही अझै फरार रहेका सुधार गृह प्रमुख डासी पौडेलले बताए । ‘बालबालिकालाई स्वेच्छाले फर्काउन मनोवैज्ञानिक परामर्श र कानुनी सल्लाहमार्फत प्रयास गरिएको छ,’ पौडेलले भने, ‘तर अझै केही फर्किएका छैनन् । बाल सुधार गृहबाट भागेका अधिकांश बालक पनि जबरजस्ती करणीसम्बन्धी मुद्दामा सुधार गृह पठाइएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले फरार बालकहरूको खोजी जारी रहेको जनाएको छ ।
सञ्जय रानाभाट