INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिनदेखि आठ जना बालक सम्पर्कविहीन

बनगाड कुपिण्डे नपा–१० खानीगाँउका आठ जना बालक तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नभएको भन्दै अभिभावकले खोजविनका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–१२ शिद्धेश्वरी मावि निगालचुलामा अध्ययनरत बालकहरू पुस ९ गते विद्यालय पढ्न गएकोमा घर नफर्केपछि आफूहरूले खोजी गरिरहेको तर अहिलेसम्म कतै पनि नभेटिएको गणेशका बुवा नेत्रलाल पुनले गुनासो गरे ।

बेपत्ता हुने बालकहरूमा बनगाड कुपिण्डे नपा–१० खानीगाँउका १२ वर्षीय गणेश पुन, सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन, १३ वर्षीय तिलक पुन, ११ वर्षीय टोपेन्द्र पुन, १२ वर्षीय प्रेम पुन, १२ वर्षीय निखिल पुन, ११ वर्षीय मोहन बुढा र ११ वर्षीय टोपबहादुर पुन रहेका छन् । आठ जना  बालकहरू विद्यालयको पोसाकमै रहेको आफन्त खिमलाल बिकले जानकारी दिए ।

बालकहरूको खोजतलास गरिदिन अभिभावकले सबै सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा अथवा सम्पर्क नम्बर ९८०९५०५१०७ र ९८२२५४७१६८ सम्पर्क गराइदिन अभिभावकले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गिरिराज भण्डारीले हराएका बालकको खोजी गरिदिन आज मात्र सूचना आएको बताउँदै बालकको खोजी कार्य जारी रहेको बताए ।

अन्य

भिडियो