लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले आरोप लगाएकी छन् ।
२६ वर्षीया झनमायाले आफू ६ महिनाको गर्भवती अवस्थामा पति गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको आरोप लगाएकी हुन् ।
पतिले घरबाट निकालेपछि गत कात्तिदेखि माइतीघरमा बस्दै आएकी उनले पुस ३ गते अर्की छोरीलाई जन्म दिएकी हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मँदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको पीडितले बताइन् ।
झनमायाकी दुईटी छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । यो तीन जना छोरी भने जिवित छैनन् ।
झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा विपन्न भएका कारण शिशुको उपचारमा कठिनाइ भएको छ । अस्पतालले रेफर गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् । सानै उमेरमा विहे गरेकी उनले ६ सन्तान जन्माएको र तीन जना मात्रै जीवित रहेको दुखेसो गरिन् ।
पहिलो सन्तान मृत छोरी जन्मिएको र त्यसपछिको गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुईदुई पटक पतिको दबाबमा गर्भपतन गरेको उनले बताइन् ।
‘पटकपटक छोरी जन्माएपछि निकै दुःख पाएँ ।’-झनमायाले दुखेसो गरिन्-‘पति आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन् । आफ्नो कोही भएनन् ।’
गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि बृद्ध बुवाको सहारामा अस्पताल पुगेकी उनले रोगी शिशुको जन्म भएपछि पीडा थपिएको बताइन् ।
कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस बीको खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताइन् ।
झनमायाका अनुसार छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने पति कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनकी छोरीको उपचारका लागि अन्य निकायसँग समन्वय गरेर बाहिरबाट खोप मगाएर भए पनि उपचार गर्न सहयोग गर्ने आश्वासन दिएको छ ।
अस्पतालका रजिष्ट्रार विश्वराज काफ्लेले अति विपन्न वर्गका बिरामीलाई अस्पतालले सहयोग गर्ने गरेको भन्दै नवजात शिशुलाई हेपाटाइटिस बीको खोप लगाउन पहल गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि पत्नी छोडेर भागेका पतिको खोजीको लागि पहल गर्ने बताए ।
अस्पतालमै रहेकी झनमाया र छोरीको उपचारका लागि अस्पतालसँग समन्वय गरेर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।