सिमकोट गाउँपालिका–५ को सदरमुकाम सिमकोडमा रहेको रेडियो कर्णाली आवज एफएम ९४.२ मेगाहर्ज तोडफोड गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाँजबहादुर भण्डारीलाई पुस ६ गते गिराफ्तार गरेको छ ।
आरोपितले पुस ६ गते राति ९ बजेको समयमा मदिरा सेवान गरी एक्कासी घरभाडाको रुपियाँ माग्ने बहानामा रेडियो तोडफोड गरेको रेडियोका निमित्त स्टेसन म्यानेजर एवम् पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहोराले बताए । रेडियोको स्टेशन बहालको घरमा रहेको छ भने आरोपित उक्त घरधनीका ज्वाँइ हुन् ।
रेडियो तोडफोड मात्र नभएर कर्मचारीलाई समेत गाली गर्दै कुटपिट गर्ने समेत धम्की दिएको बोहोराले आरोप लगाए ।
रेडियो तोडफोड गरेपछि निमित्त स्टेसन म्यानेजर बोहोराले प्रहरीलाई मौखिक उजुरी गरेपछि आरेपितलाई राति नै नियन्त्रणमा लिएको छ । हाल रेडियोको प्रसारण सेवा भने बन्द रहेको छ ।