आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्लामा ४६ करोड ७१ लाख बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा व्यक्तिका नीजि घरहरु, सरकारी सार्वजनिक सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीका कारण ४६ करोड ७१ लाख ५४ हजार ७६ रुपियाँ बराबरको क्षति भएकोे छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले २४ ओटा सरकारी कार्यालयमा आगजानी, तोडफोड र लुटपाट गर्दा १४ करोड २८ लाख ६४ हजार, १९ ओटा नीजि निवासहरुमा आगजानी तोडफोड, लुटपाट गर्दा ११ करोड १५ लाख ५० हजार ५ सय ५८ रुपियाँ, कांग्रेंस, एमाले, माओवादीका पाँच ओटा पार्टी कार्यालयमा आगजनी र तोडफोड गर्दा ७० लाख ३८ हजार, दुई ओटा क्यासिनो सहितका ६ ओटा व्यवसायिक केन्द्रमा आगजनी र तोडफोट गर्दा १८ करोड ३८ लाख ५४ हजार, सात ओटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्दा ६३ हजार ७ सय, १९ ओटा सवारी साधनमा आगजनी गर्दा २ करोड १७ लाख १० हजार ५ सय १८ र एनसिल सेन्टर आगजनी र तोडफोड गर्दा ३ लाख रुपियाँ बराबरको क्षति भएको बताउनु भयो ।
भिमदत्त नगरपालिकाका उपमेयर निलम लेखकका अनुसार आन्दोलनका कारण कार्यालय मात्र नभई स्थानीयबासी पनि प्रत्यक्ष प्रभावित भएका छन् । सजिलैसँग घर नजिकैका वडास्तरमै सेवा पाउने नागरिक अब नगरपालिकाको मुख्य कार्यालय धाउन बाध्य छन् । वडा कार्यालयका भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध हुँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले थप सास्ती खेप्नु परिरहेको छ ।
लिली कुँवर