घोराही उपमनपा–१३ का १७ वर्षीय सुवास पुनको हत्या गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१३ का १८ वर्षीय सन्तोष घर्ती, सोही ठाउँका १९ वर्षीय विपी पुन, घोराही उमनपा–१८ का २० वर्षीय बादल शाह र सोही ठाउँका १८ वर्षीय अशोक घर्तीलाई पुस ५ गते गिरफ्तार गरेको छ ।
कात्तिक ३० गते स्वर्गद्वारी घुम्न जाने भन्दै घरबाट साथीहरूसँग हिडेका सुवास मङ्सिर २ गतेदेखि सम्पर्कविहीन भएका थिए । स्वर्गद्वारी गएका सुवासका नौ जना साथीहरू घर फर्किएका थिए ।
मृतकका बुवा ४५ वर्षीय रामबहादुर पुनले सुवासका साथीहरूले हत्या गरेको भन्दै पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरूलाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पुस २ गते जङ्गलमा मृत भेटिएका सुवास पुनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएपनि परिवारले भरपर्दो अनुसन्धान नथालिँदासम्म पोष्टमार्टम नगर्ने र शव नबुझ्ने अडान लिएका छन् ।