INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार भएका सात जना कैदी गिरफ्तार

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २३ गते र २४ गते देशभरका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दी झापामा गिरफ्तार भएका छन् । विभिन्न कारागारबाट फरार भएका सात जनालाई प्रहरीले भदौ ३१ गते झापाबाट गिरफ्तार गरेको हो ।

काठमाण्डौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको क्षेत्रीय कारागार, झुम्का र कास्की कारागारबाट भदौ २४ गते फरार भएका  पाँच जना पुरूष र  दुई जना महिला जनालाई झापाका विभिन्न ठाउँबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रविण श्रेष्ठले बताउनु भयो ।

गिरफ्तारीमा पर्नेमा सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका-५ की २८ वर्षीया रुकसार खातुन र २८ वर्षीय एकसरा खातुन छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ आएको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका-६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले दिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

सुनसरीको झुम्का कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी कनकाई नगरपालिका-४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइ दिएको प्रहरीले जनाएको छ ।  सुन्धारा कारागारबाट थप दुई जनालाई गिरफ्तार गरिएको र उनीहरूको परिचय गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रविण श्रेष्ठले बताउनु भएको छ ।

अन्य

भिडियो