मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकासका लागी गरिएका प्रयासलाई आयोगले नजिकबाट नियालिरहेको भन्दै सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवारीपूर्वक दायित्व पूरा गर्न राष्ट्रिय मानव अधिकार आयोगले ०८२ भदौ ३० गते आह्वान गरेको छ ।
नयाँ सरकार गठन समेत भइसकेको हुँदा जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोष्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहत लगायतका कार्यमा विशेष ध्यान दिन आयोगले आह्वान मार्फत आग्रह गरेको छ ।
देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन आह्वान गरिएको आयोगले जनाएको छ ।
अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पु¥याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न समेत आह्वान गरिएको छ ।
आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्पे्रषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन, आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न र विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न आयोगले आवहानमा उल्लेख गरिएको छ ।
सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सरलता पूर्वक सञ्चालन गर्न तथा आमनागरिकहरूको आवतजावतलाई सहज बनाउन समेत आयोगले आग्रह गरेको छ ।
प्रदर्शनको क्रममा गरिएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवाप्रवाहमा जोड दिन आह्वान गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी आह्वानपत्रमा जनाइएको छ ।