जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीहरू रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनुभयो ।
डिएसपी कार्कीका अनुसार चितवन कारागारबाट भागेका भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यप, नवलपरासी कारागारबाट भागेका रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना, केन्द्रीय कारागार काठमाडौँबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा मगुम्बा र तान्जानियाकै कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेन्छु कशुव, जिल्ला बाग्लुङ्ग गल्कोटका ३७ वर्षीय नविन बहादुर पुन र कपिलवस्तु कारागारबाट भागेका जिल्ला स्याङ्गजा सिमलगञ्जका २६ वर्षीय दिनेश वि.क रहेको डिएसपी कार्कीले बताउनुभयो ।
गिरफ्तार गरिएका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले बताउनुभयो । आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी नेपाल र भारतको सीमा हुदै भारतमा भाग्न सक्ने भएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेका छन् ।