आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका पाँच जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटहरूले गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएकाहरुमा केन्द्रीय कारागार काठमाडौँबाट भागेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका– ४ का ५९ वर्षीय बरसाती बरई, बलात्कार मुद्दाका प्रतिवादी रुपन्देही जिल्ला कोटहीमाई गाउँपालिका– ३ का २४ वर्षीय बाबुराम पासी, लागु औषध मुद्दाका साउथ एसियन नागरिक ३३ वर्षीय मार्लेश बेस्लेनहोरस्ट, त्यस्तै सीताराम यादव र बुद्धि बहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनु भयो ।
गिरफ्तार गरिएका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले बताउनुभयो । आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दी नेपाल र भारतको सीमा हँुदै भारतमा भाग्न सक्ने भएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ ।
मुख्य नाकामा मात्र नभई भारत पस्न सक्ने सम्भावित स–साना नाकामा पनि निगरानी बढाइएको र भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको डिएसपी कार्कीले बताउनुभयो ।
यस अघि पनि प्रहरीले देशका विभिन्न कारागारबाट भागेका नौ जनालाई गिरफ्तार गरी सम्बन्धित कारागारमा बुझाएको थियो ।