INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा जीवनजल अभाव, बिरामीहरू महँगोमा खरिद गर्न बाध्य

जिल्ला अस्पताल, बाजुरामा एक सातादेखि जीवनजल अभाव भएपछि उपचारका लागि आउने बिरामीहरू स्थानीय मेडिकल स्टोरबाट महँगो मूल्य तिरेर जीवनजल खरिद गर्न बाध्यभएका छन् ।

सरकारले अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने औषधि मध्ये जीवनजल समेत बजारबाट किन्नु पर्ने अवस्था सिर्जना भएको सेवाग्राहीहरुको गुनासो छ ।

बडिमालिका नगरपालिका–५ का खेमराज साउदले अस्पतालमा जीवनजल नपाएपछि दुई पटक बजारबाट महँगोमा जीवनजल खरिद गरी प्रयोग गर्न बाध्यभएको गुनासो गर्नु भयो । अस्पतालमा जीवनजल लगायतका निशुल्क रुप पाउने औषधी अभावभएपछि सेवाग्राहीहरुले समस्या भोग्नुपरेको उहाँले बताउनु भयो ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृप गिरीले मौज्दातमा रहेको जीवनजल सकिएपछि नयाँ खरिद प्रक्रिया सुरु गर्न टेण्डर भइसकेकाले करिब एक महिनाभित्र सेवाग्राहीहरुलाई जीवनजल उपलब्ध गराउने सकिने अपेक्षा गरिएको बताउनु भयो ।

जीवनजल अभाव भएपछि स्वास्थ्य कार्यालय, बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको भए पनि बिरामीहरुको अत्याधिक चाँपले गर्दा दुई दिन मै बिरामीहरूलाई वितरण भइसकेको समेत उहाँले बताउनु भयो ।

जीवनजलमा पोटासियम, सोडियमलगायतका आवश्यक तत्व हुने भएकाले झाडापखाला, डेंगु, मलेरिया जस्ता रोगका बिरामीलाई अनिवार्य सेवन गर्नुपर्ने हुन्छ । तर, हाल अभाव देखिएपछि बिरामीहरूले बाहिरै मेडिकलमा महँगो मूल्य तिरेर खरिद गर्नु पर्ने बाध्यता सिर्जना भएको छ । मौसमी बिरामीको सङ्ख्या बढेसँगै अस्पतालमा जीवनजलको माग समेत तीव्र रहेको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो