नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २७ गते दुई महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलाशले आरोपित बालकलाई दुई महिनाको कैद सजाय गरी स्थगनको फैसला गर्नुका साथै पीडितलाई आरोपितबाट ७ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
आरोपितबाट एक वर्षभित्र कैद सजाय हुने अन्य अपराध प्रमाणित भएमा उक्त कैद सजाय गाभिने गरी स्थगनको फैसला गरिएको न्यायाधीश ढुङ्गानाले बताए ।
ट्युशन पढेर घर फर्किरहेका बेला अँध्यारो भएको मौका छोपी पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको आरोप लगाउँदै पीडितकी आमाले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपित बालकलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा जेठ ११ गते गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश ढुङ्गानाकै इजलाशले आरोपितलाई असार ५ गते संरक्षकको जिम्मा लगाएको थियो ।
आरोपितका आमाले भने बालिकाको आमासँग आफ्नो झगडा भएको रिसमा बालक छोरामाथि झुठो आरोप लगाएको बताउँदै आएकी थिइन् ।