INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रुटिपूर्ण परीक्षाफल सच्याउन माग गर्दै अनसनमा विद्यार्थी

कक्षा ११ को नतिजामा राष्ट्रिय परिक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै पोखरामा विद्यार्थी सङ्गठनहरूले रिले अनसन गरिरहेका छन् ।

परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै मङ्सिर २४ गतेदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घ, अखिल छैठौँ, नयाँ शक्ति विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी, अभिभावक सरोकार समिति, पीडित विद्यार्थी सङ्घर्ष समिति, र विद्यालय समन्वय समिति कास्कीले रिले अनसन गरिरहेका हुन् ।

Photo20181212Kaski3

गत असोज २० गते सार्वजनिक नतिजामा विज्ञान समूह अन्तर्गत रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयमा विद्यार्थीको ‘सी’ ग्रेडभन्दा कम आएको भन्दै कास्कीका विद्यार्थीले पुनर्योग गराएका थिए ।

तर, पुनर्याेग पछिको नतिजा झनै खराब आएको भन्दै उत्तरपुस्तिकाको पुनःपरीक्षणको माग गर्दै  विद्यार्थी, विद्यार्थी सङ्गठन, विद्यालय र सम्बन्धित संस्थाले अनसन जारी राखेका हुन् ।

मङ्सिर २३ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घ, अखिल छैठौँ, नयाँ शक्ति विद्यार्थी यूनियन, अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पुनः परीक्षण गराएर १५ दिनभित्र नतिजा सर्वाजनिक गर्न परीक्षा बोर्डसँग माग गरेका थिए ।

साथै विद्यार्थीहरूले सोही दिन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

यस्तै अनेरास्ववियू कास्की अध्यक्ष शेखर गौतम, अनेरास्ववियू (क्रान्तिकारी)का गण्डकी प्रदेश संयोजक कृष्ण दाहाल, विभिन्न विद्यालयका प्रमुखलगायतको टोली प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउनका लागि काठमाडौँ पुगेका छन् ।

‘गण्डकी प्रदेशका करिब २ हजार ७ सय विद्यार्थीहरूको नतिजा बिग्रेर आएको छ । विद्यार्थीको भविष्यलाई अन्धकार बनाउने गरी आएको नतिजा स्वीकार्य हुँदैन । चरम लापरवाही देखियो सबै विद्यार्थीहरूले  रिटोटल होइन रिचेक गर्न पाउनुपर्दछ ।’–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जनप्रिय बहुमूखी क्याम्पस, अध्यक्ष विशाल गोले गुरुङले भने ।

गुरुङका अनुसार विद्यार्थीले थप दबाबका लागि मङ्सिर २७ गते बिहान ११ बजे पोखराको चिप्लेढुङ्गाबाट विरोध र्‍यालीको आयोजना गरिएको छ ।

‘छोराछोरीलाई दुःख गरेर पढायो । उनीहरूले पनि उत्तिकै मेहनत गरेर पढेका हुन्छन् । परीक्षाको नतिजा सोचे जस्तो नआउँदा भविष्य माथि नै गम्भीर असर गर्छ । यसको निकास चाँडै निकाल्नु पर्छ । पुनः परीक्षण गरेर गल्ती भएको भए दोषी पत्ता लगाई कारबाही समेत गरिनुपर्दछ ।’–रिले अनसनमा सहभागी भएका अभिभावक बाबुराम सिहं थापाले भने ।

पुनर्योगपछि १ सय ३५ जनाको ग्रेड वृद्धि भएर आएको राष्ट्रिय परीक्षा बोर्ड पोखराका निमित्त निर्देशक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठले २ हजार ७ सय विद्यार्थीमध्ये अधिकांश पोखराका रहेको बताए ।

‘पुनर्याेगबाट पनि उहाँहरू सन्तुष्ट हुनुभएन । तर, सङ्ख्यात्मक रूपमा हेर्दा १ सय ३५ जनाको नतिजा सच्चिएर आउनु पनि महत्वपूर्ण कुरा हो । विद्यार्थीहरूको मागलाई ध्यानमा राख्दै ‘सि’ प्लस आएका कुनै दुईओटा विषयमा पुनःपरीक्षा दिन पाउने भन्ने निर्णय गर्दै पुस १४ गतेदेखि बोर्डले परीक्षा सञ्चालन गर्दैछ ।’–श्रेष्ठले भने ।

परीक्षा बोर्डको गम्भीर त्रुटिले विद्यार्थीहरूको भविष्यमा असर परेको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीका अध्यक्ष रामजी शर्माले बताए ।

यसअघि हिसान कास्कीले असोज २२ गते राष्ट्रिय परीक्षा बोर्ड पोखरामा पुनः परीक्षणको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको थियो ।

यसैबीच शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बराल, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत ज्योती घिमिरे र इन्सेक जिल्ला प्रतिनिधि सुशन घिमिरे सहभागी टोलीले मङ्सिर २६ गते अनशनको अनुगमन गरेका थिए ।

पोखराका जनप्रिय बहुमखी क्याम्पस, गोगन माध्यामिक विद्यालय, सगरमाथा उच्च माध्यामिक विद्यालय, मदरल्याण्ड उच्च माध्यामिक विद्यालय, सिर्जना उच्च माध्यामिक विद्यालयलगायतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको नतिजामा त्रुटि रहेको आन्दोलनरत विद्यार्थी सङ्गठनले जनाएका छन् ।

यसअघि बोर्डले मङ्सिर ८ गतेदेखि पुनः परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले ०७५ वैशाख÷जेठ महिनामा कक्षा ११ को परिक्षा सञ्चालन गरेको थियो ।

अन्य

भिडियो