वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा फरार रहेका राजविराज नपा–११ का २० वर्षीय आनन्दकुमार यादवलाई प्रहरीले मङसिर २२ गते गिरफ्तार गरेको छ ।
फरार रहेका आरोपित यादव गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । डिएसपी रिमालका अनुसार सुनसरीको लौकहीबाट गिरफ्तार भएका आरोपितलाई सप्तरी ल्याइएको र मङसिर २३ गते जिल्ला अदालतबाट म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइने छ ।
जिल्ला अदालत सप्तरीले आरोपितसहित १३ जनालाई हत्या आरोपमा मङसिर ४ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।
हत्या आरोपमा गिरफ्तार भएका राजविराज नपा–१२ का २५ वर्षीय मिथिलेश यादव हाल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने गिरफ्तार भएका १७ वर्ष १० महिना २१ दिनका एक बालकलाई संरक्षक आमाको जिम्मामा तारेखमा रिहा गरिएको छ ।
आरोपितहरूले ०७५ असोज २३ गते बिहान नौ बजे गरेको आक्रमणबाट असोज २४ गते राति मृत्यु भएको भन्दै मृतकका बुवा भन्नालाल यादवले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते उजुरी दर्ता गराएका थिए ।
राजविराज नपा–२ स्थित पिस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा प्रेमकुमारलाई घेरा हाली आरोपितहरूले धारिलो हतियारले प्रहार गरी हत्या गरेको मृतकका बुवाको दावी छ । शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा असोज २५ गते गरिएको थियो ।