इनरुवा फुलबडिया गाविस–९ की २० वर्षीया सिमरन मण्डललाई प्रहरीले नै बेपत्ता बनाएको भनी उनका ससुरा जियाउल हकले राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा निवेदन दिनुका साथै उच्च अदालतको राजविराज इजलासमा असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका छन् ।
हकले इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर सुर्यनारायण यादव, सई जयप्रकाश साह, प्रहरी हवल्दारहरू दिपेन्द्र यादव र जितु पासवानसहितको प्रहरी टोलीले अदालतको नाताकायमलाई बेवास्ता गर्दै २१ वर्षीय छोरा एर्शाद हुसेनबाट अलग गराई बुहारी सिमरनलाई भदौ ३१ गते जबरजस्ती घरबाट लगेर बेपत्ता बनाएको आरोप लगाएका छन् ।
हकले दिएको उजुरी निवेदनमा बुहारी सिमरनलाई सकुशल फिर्ता गर्नुका साथै प्रहरीले डरत्रास र धम्की दिएर लिएको २ लाख ५ हजार रुपियाँ फिर्ता पाउन माग गरिएको छ ।
भदौ १ गते इनरुवा फुलबडिया गाविस–९ स्थित घर आइपुगेपछि एर्शादका परिवारका सदस्यहरूले उचित निकासका लागि सिमरनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर पुर्याएका थिए । प्रहरीले दुवैलाई विना पुर्जी ६ दिनसम्म थुनामा राखेर ‘अपहरण तथा बलात्कार मुद्दामा ११ वर्ष कैद’ को धम्की दिएपछि एर्शादका बुवा हकले प्रहरीले भने बमोजिम भदौ ६ गते २ लाख २० हजार रुपियाँ दिएर एर्शादलाई छुटाएर घर लगेको र सिमरनलाई उनका काका शोभित मण्डलको जिम्मा लगाइएको एर्शादका काका अताउल हकले बताए ।
धेरै प्रयास गर्दा पनि विवाह सम्भव नभएपछि एर्शाद र सिमरनले सप्तरी जिल्ला अदालतबाट भदौ २७ गते नाताकायम गराई घरमा बस्दै आएका थिए ।
इन्स्पेक्टर यादवले भने घरबाट बेपत्ता भएकी नाबालिका सिमरनलाई खोजतलास गरी जिम्मा लगाउन इलाका प्रहरी कार्यालय लहानले पठाएको पत्र अनुसार भदौ ३१ गते जिम्मा लगाएको बताए ।
जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरीमा भने एसपी भिमप्रसाद ढकालले इन्सपेक्टर यादव र सई साहसँग असोज ७ गते दोस्रो पटक स्पष्टिकरण सोध्नुका साथै छानबिन समिति नै गठन गरी कारबाही प्रकृया अगाडि बढाइएको जानकारी दिए । यसैगरी रकम लेनदेनमा संलग्न सिरहा पतारका विष्णु यादवलाई असोज ७ गते गिरफ्तार गरी थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।