INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका लागि निर्मलाका बावुलाई काठमाडौँ लगियो

१४ दिनदेखि रातदिन धर्नमा बसेका निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रँदै गएपछि हवाईजहाजमार्फत काठमाडौँ लैजाने प्रयास असफल भएर अलपत्र परेका निर्मलाका बावु आमालाई मङ्सिर ८ गते राति गाडीमार्फत काठमाडौँ लगिएको छ ।

हवाइजहाजमा यज्ञराजको अवस्था देखेर सुरक्षाको कारण देखाउँदै जहाजमा चढाउन नमानेपछि उनीहरू गेटा विमानस्थलमा अलपत्र परेका थिए ।

सुदुरपश्चिम प्रदेश सरकारले निर्मलाका आमाबावुलाई हवाईजहाजले काठमाडौँ नलगेको खबर पाउनासाथ काठमाडौँ लैजान बन्दोबस्त मिलाउन मातहतका निकायलाई निर्देशन दिएको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव शिव ओलीले बताए ।

मानसिक सन्तुलन बिग्रिएर अस्वभाविक व्यवहार गर्न थालेपछि यज्ञराजलाई सेती अञ्चल अस्पतालमा बेहोस हुने सुई लगाएर काठमाडौँ लगिएको हो । उनको सुरक्षा र सहयोगका लागि तीन सुरक्षाकर्मीसहित एक स्वास्थ्यकर्मी पनि सँगै गएका छन् ।

यज्ञराजको उपचारका लागि महेन्द्रनगरदेखि उनकी पत्नी दुर्गादेवी पन्तसहित यज्ञराजका भिनाजु किशोर जोशी र ज्वाँइ गजाधर भट्टपनि साथमा गएका छन् ।

यज्ञराजकी कान्छी पत्नी लक्ष्मीले धर्नामा बसेर धर्नालाई निरन्तरता दिएकी छिन् । लक्ष्मीले न्याय नपाउञ्जेलसम्म धर्ना जारी राख्ने लक्ष्मीले बताइन् । छोरी निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै २५ कात्तिकदेखि जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्नामा बसेका यज्ञराजको गएको सातादेखि स्वास्थसँगै मानसिक सन्तुलन गुम्दै आएको थियो ।

साउन १० गते साथीको घर गएकी निर्मला साउन ११ गते मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको थियो । निर्मला घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान जारी राखेको जनाएको छ ।

अन्य

भिडियो