INSEC Online

📅 २०८३ जेष्ठ २१

इञ्जिनियर हत्या घटनाका आरोपित गिरफ्तार

राजविराज नपा–६ का ५० वर्षीय इञ्जिनियर हरिनारायण देवको हत्या गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ५३ वर्षीय श्रीलाल मण्डललाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

हत्या अभियोगमा फरार रहेका मण्डललाई घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर ६ गते उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

साविक बोरिया गाविस–३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज नपा–६ स्थित घरतर्फ आइरहेका देवलाई घर नजिकै ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । मृतक देव राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवका दाजु हुन् ।

अस्पताल पु¥याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको थियो । शवको पोष्टमार्टम राजविराजस्थित अञ्चल अस्पतालमा ०६७ पुस १४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले ०६८ पुस २६ गते जिल्ला अदालतमा उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले ०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस–३ का ३८ वर्षीय हरेराम यादव, लालापट्टी गाविस–२ का २७ वर्षीय अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस–८ का ३० वर्षीय अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तवीमा राखेको थियो ।

यसैगरी गिरफ्तार भएका बोरिया गाविस–३ का २३ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर गाविस–३ का २४ वर्षीय दिलजले भनिने उमेश राम र २४ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो ।

जिल्ला अदालतको फैसलाविरूद्ध ०७२ असार १६ गते अनिलले र ०७२ साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकोमा उच्च अदालत जनकपुर राजविराज इजलाशले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै ०७३ कात्तिक १० गते फैसला गरेको थियो ।

अन्य

भिडियो