INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा जिल्ला अदालतमा मुद्दा दर्ता

कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला अदालतमा मङ्सिर ६ गते मुद्दा दर्ता गराएकी छिन् ।

घरेलु हिंसा पीडित बुचीयादेवीले न्यायको माग गर्दै यसअघि पटकपटक न्यायिक समिति र प्रहरीमा उजुरी दिएपनि न्याय नपाएको भन्दै इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरीदिन आग्रह गरेकी थिइन् ।

इन्सेक प्रतिनिधि र अधिकारकर्मीको पहलमा बुचीयादेवीको मुद्दा दर्ता भएपछि आरोपितहरूलाई मङ्सिर ७ गते जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने गरी अदालतले तारेख पर्चा काटेको छ ।

पीडितले कोशी गाउँपालिका–८ हरिपुरका ४६ वर्षीय बेचन खत्वे, ४२ वर्षीया  सरस्वती खत्वे, ५५ वर्षीय जमुना खत्वे र २३ वर्षीय तैजु खत्वेविरूद्ध घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराएकी हुन् ।

तीन वर्षअघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले चरित्रमाथि आरोप लगाउँदै कुटपिट र मानसिक यातना दिने गरेकाले न्यायको माग गर्दै पटकपटक प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडितले इन्सेक प्रतिनिधिसँग गुनासो गरेकी थिइन् ।

पतिले साथ नदिएको र दलित भएकै कारण खत्वेलाई परिवारका सदस्यले विभिन्न आरोपमा कुटपिट गर्ने गरेको अधिकारकर्मी शिवेन्द्र कर्णले बताए ।

जेठाजु पैसावाल र पहुँचवाला व्यक्ति भएकाले प्रहरीमा उनीहरूविरूद्घ उजुरी लिएर जाँदा प्रहरीले घरको समस्या घरमै मिल्नु भन्दै पठाउने गरेको पीडित महिला खत्वेले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारले बुचीयादेवीको विषयमा परिवारका सदस्यसँग छलफल भएको र दुवै पक्षबीच मिलेर बस्ने सहमति भएको तर मुद्दा अदालत गएको विषयमा आफूलाई थाहा नभएको बताए ।

पीडितले प्रहरीमा ०७३ भदौ १७ गते, भदौ २४ गते र ०७४ असोज २० गते उजुरी लिएर गएकोमा दबाबमा सहमति गराइदिएको तर न्याय दिलाउने काम नगरेकाले अधिकारकर्मीलाई गुहार गरेको पीडित बुचीयादेवीले बताइन् ।

अन्य

भिडियो