१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरी बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका-२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मङ्सिर ३ गते आठ वर्षकैद र पीडितलाई १ लाख ५० हजार रुपिँया क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बालविवाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।
पीडितलाई तामाङले ०७५ असार १९ गते प्रलोभनमा पारेर भागी विवाह गरी बलात्कार गरेको भन्दै पीडित पक्षले असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २२ गते कटारी अस्पतालमा गरिएको थियो । तामाङलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेकोमा अदालतले साउन १ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।