बलात्कार गरेको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ गते गिरफ्तार गरेको हो । उनीविरुद्ध २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् ।
पीडित युवती सम्पर्कविहीन भएपछि प्रहरीले पाख्रिनलाई अदालतबाट म्याद थपेर थुनामा राखिरहेको थियो । आरोपितले युवतीलाई प्रभावमा वा दबाबमा पारेर सम्पर्कविहीन बनाउन खोजेको वा बाहिरै लेनदेनका आधारमा मुद्दा मिलाउन सक्ने आशङ्का गर्दै प्रहरीले पीडित युवतीको खोजी तीव्र पारेको थियो । अनुसन्धानमा खटिएका एक प्रहरीले भने-‘प्रलोभन वा दबाबमा परेर घटनामा बाहिरै मिलापत्र भयो कि भन्ने शङ्काका आधारमा हामीले पीडितलाई खोजिरहेका थियौँ ।’
उजुरीको १९ दिनपछि मङ्सिर ३ गते युवती आफ्ना आफन्तसहित प्रहरी कार्यालय पुगेपछि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको थप बयान र गिरफ्तारीमा परेका व्यक्ति नै आरोपित हुन् वा होइनन् भनेर सनाखत गरेको छ । युवती उपस्थित भएलगत्तै सरकारी वकिलमार्फत अदालतमा मुद्दा लैजाने तयारी सुरू गरिएको प्रहरी परिसर ललितपुरका डिएसपी शेखर खनालले बताए ।
पीडित युवतीको बयानअनुसार घटना गत असोज १ गतेको हो । कामको खोजीमा निस्केकी उनलाई ललितपुरको ज्वागलमा खरानी रङको स्कार्पियोमा आएका व्यक्तिले गाडी रोकी कहाँ जाने भनेर सोधे । उनले आफू कुसुन्ती जान लागेको बताइन् । ती व्यक्तिले आफू पनि त्यतै जान लागेकाले पुर्याइदिने आश्वासन दिए । उनी गाडीमा चढिन् ।
प्रहरी परिसर ललितपुरमा युवतीले दिएको उजुरीमा लेखिएको छ-‘कुसुन्ती लगिदिने भनेका ती गाडीवालले मलाई आफ्नो अफिस पुर्याए ।’ त्यो हाउजिङको अफिस रहेको र उनले आफूलाई काम गर्ने मानिस चाहिएको भन्दै जागिर प्रस्ताव गरेको उजुरीमा उल्लेख गरिएको छ ।
‘मलाई पनि काम गर्ने मान्छे चाहिएको छ । महिनाको २० हजार दिन्छु ।’-ती मानिसले भनेको उद्धृत गर्दै उजुरीमा लेखिएको छ । यस्तो आश्वासनको केहीबेरपछि ती व्यक्तिले बलात्कार गरेको आरोप युवतीले लगाएकी छन् ।
युवतीले उजुरीमा लेखेकी छन्-‘जबर्जस्ती करणीको भिडियो बनाएर उसले सोही भिडियो देखाउँदै मलाई पटकपटक इच्छाविपरीत करणी गर्दै आइरहेकाले बाध्य भएर यो जाहेरी दिन आएकी हुँ ।’
उक्त घटनालाई नजिकबाट नियालिरहेका प्रहरी अधिकारीका अनुसार बाटोमा हिँडिरहेकी युवती देख्नेबित्तिकै पाख्रिनले किन गाडी रोके ? अपरिचितले गाडी रोकेकै आधारमा ती युवती किन गाडीमा चढिन् भन्ने प्रश्नको उत्तर खोज्ने काम भइरहेको छ ।
प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले भने-‘घटना अलिक गम्भीर प्रकृतिको छ । त्यही भएर हामी सबै कोणबाट यसको अनुसन्धान अगाडि बढाइरहेका छौं ।’
समाचार साभारः कान्तिपुर