जेन–जी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका छोपि सुदूरपश्चिम प्रदेश अन्तर्गत बिभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरु पुनः कारागार फर्किने क्रम जारीभएको छ ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम र दार्चुला जिल्ला कारागारबाट १ हजार ४ सय ३ जना र बाल सुधार गृह, डोटीबाट ५२ जना गरी १ हजार ४ सय ५५ जना कैदीबन्दीहरु कारागारबाट फरारभएका थिए । कारागारबाट फरार कैदीबन्दीहरु माध्ये भदौ २७ गते मात्रै बतडी र कैलाली जिल्ला गरी ३४ जना कैदीबन्दीहरु कारागार फर्किएका छन् । फारर भएका मध्ये भदौ २६ गतेसम्म ६४ जना कैदीबन्दीलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी गराउनुभएको थियो ।
इन्सेक प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्ला कारागारबाट भागेका ६ सय ६७ जना कैदीबन्दी मध्ये भदौ २७ गते २४ जना कैदीबन्दी पुनः कारागारमा फर्किएका छन् । कारागारबाट फरार रहेका कैदीबन्दी मध्ये ६ जनालाई टिकापुरबाट र दुई जनालाई जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला कारागारका जेलर चिरिञ्जीवी सापकोटाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरी फरार रहेका कैदीबन्दीहरुलई स्वस्फुर्त रुपमा कारागारमा फर्किन भनेपछि फर्किने क्रम जारी रहेको र यातायात सूचारु भएपछि कैदीबन्दीहरुको फर्किने क्रम बढ्ने समेत जेलर सापकोटाले बताउनु भयो । कैलाली जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दीको क्षमता रहेको भए पनि ५५ जना महिला सहित ६ सय ६७ जना कैदीबन्दीलाई राखिएको थियो ।
इन्सेक प्रतिनिधि नरी बडुका अनुसार जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी फरार भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले कैदीबन्दीहरुलाई कारागार फर्किन आग्रह गरेसँगै कैदीबन्दीहरु पुनः कारागार फर्किन थालेका छन् । जिल्ला कारागार, बैतडीबाट ६२ जना कैदीबन्दी मध्ये ६१ जना फरार रहेकोमा भदौ २७ गतेसम्म १० जना कैदीबन्दीहरु स्वस्फुर्त रुपमा सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो । सम्पर्कमा नआएका फरार कैदीबन्दीहरुलाई प्रहरीले खोजी कार्य गरेर गिरफ्तार गर्ने समेत पाण्डेले बताउनु भयो ।