गम्भीर अपराधमा संलग्न अपराधी फरार भएपछि आम नागरिकमा त्रास बढेको छ । अदालतले सुनाएको सजाय कार्यान्वयन नहुनु र अपराधी सजिलै भाग्नुले आमजनमानसमा त्रास बढाएको छ । जेनजीको नेतृत्वमा ०८२ भदौ २४ गते भएको देशव्यापी आन्दोलनका क्रममा कारागार र बाल सुधार गृहबाट बाल बिज्याइँको आरोपमा रहेकाहरू फरार भए । यो क्रममा भएका झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आन्दोलन तथा कारागार सुरक्षामा प्रहरीको कमजोर उपस्थितिको फाइदा उठाउँदै कारागारहरूबाट कैदीबन्दीहरू समूहगत रूपमा भागेका छन् । भदौ २४ गते सुरक्षाको कारण देखाउँदै सहकारी ठगीको मुद्दामा नख्खु कारागारमा रहेका रवि लामिछाने कारागारबाट बाहिरिएपछि सो कारागारमा रहेका १ हजार २ सय ५६ जना कैदीबन्दी फरार भए । यो घटनालगत्तै देशभरका जेलका कैदीबन्दी आन्दोलित भएका थिए । आन्दोलनका कारण प्रहरीलाई बाहिरी जिम्मेवारीमा खटाइँदा र केही जेलमा आन्दोलनकारीले नै कारागारमा तोडफोड गर्दा जेलभित्रको सुरक्षा कमजोर भएको थियो । कारागार संरचना जीर्ण अवस्थामा हुनु र आकस्मिक परिस्थितिलाई व्यवस्थापन गर्न पर्याप्त स्रोत नहुनु, कैदीहरूको लामो समयदेखिको असन्तुष्टि र भीडभाडको कारण एकैपटक ठूलो सङ्ख्यामा भाग्ने प्रयास भएको मान्न सकिन्छ ।
हाल ७७ जिल्लामध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी पाँच ओटा जिल्ला बाहेक ७२ ओटा जिल्लामा ७५ ओटा कारागार कार्यालयहरू छन् । कारागार यातना गृहभन्दा सुधार गृहका रूपमा हुने राज्यको नीति भए पनि देशका अधिकांश कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दीलाई राखिएको छ । जसका कारण कैदी तथा बन्दीहरूले आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ । नेपालमा हिरासत तथा कारागारभित्रको बसाइ मानवताका आधारमा तथा न्यूनतम मापदण्डभित्र नरहेको साथै खानेपानी, स्वास्थ्योपचारलगायतका विषयमा पूर्वाधार र यथोचित बजेटको अभाव देखिन्छ । वर्तमान महँगीको अनुपातमा बन्दीहरूलाई जेलभित्रको जीविकोपार्जनका लागि दिइने दैनिक रकम तथा आश्रित बालबालिकाका लागि उपलब्ध गराइँदै आएको रकम अत्यन्त न्यून देखिन्छ । हिरासत तथा कारागारको अवस्था र यसको भौतिक पूर्वाधार अत्यन्त कमजोर रहेको र क्षमताभन्दा अत्याधिक कैदीबन्दी रहेको समस्यालाई समेत राज्यले सम्बोधन गर्न सकेको छैन ।
प्रदेशगत विश्लेषण
कोशी प्रदेश
सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्काबाट १ हजार ५ सय ५२ जना र सोलुखुम्बु जिल्ला कारागारबाट ८६ जना गरी १ हजार ६ सय ५८ जना कैदीबन्दी फरार भएका छन् ।
जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कारागार जलाउने धम्की दिएर क्षेत्रीय कारागार झुम्काबाट फरार भएकामध्ये १३ जनालाई प्रहरीले भदौ २५ गते नियन्त्रणमा लिएको छ । कारागारका आगजनी र कारागारको ढोका तोडफोड गरेर जिल्ला कारागार सोलुखुम्बुबाट फरार भएका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेशका १४ जिल्लामा कारागार रहे पनि क्षेत्रीय कारागार झुम्काबाट र जिल्ला कारागार सोलुखुम्बुबाट कैदीबन्दी फरार भएका हुन् । पुरूषलाई मात्र राखिने झुम्का कारागार, सुनसरीको क्षमता १ हजार ६ सय र जिल्ला कारागार सोलुखुम्बुको महिला पाँच जना र पुरूष २० जना गरी २५ जनाको क्षमता भएको छ ।
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट भदौ २५ गते बिहान २ सय ४ जना बालविज्याइ घटनाका दोषी र आरोपित फरार भएका छन् । ५० जनाको क्षमता भएको बाल सुधार गृहमा २ सय ५५ जना रहेका २ सय ४ जना सुरक्षाकर्मीलाई धम्की दिएर गेट खोल्न लगाइ फरार भएको बाल सुधार गृह प्रमुख मिलन चौहानले बताए । फरार भएकामध्ये १ सय ६१ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । ४३ जनाको खोजी भइरहेको प्रमुख चौहानले बताउनु भयो ।
मधेश प्रदेश
मधेश प्रदेशका सप्तरी, महोत्तरी, रौतहट र पर्सा जिल्ला कारागारबाट कैदी बन्दी भागेका छन् । ती कारागारहरूबाट १ हजार ४९ जना कैदी बन्दी भागेकोमा ७० जना कैदी बन्दीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । जलेश्वर कारागारबाट ५ सय ७७ जना कैदी बन्दी रहेकोमा ५ सय ७६ जना कैदीबन्दीहरू भागेका छन् ।
कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले भदौ २४ गते साँझ करिब ७ बजे कारागारको पर्खाल भत्काएपछि कारागारमा रहेका सबै कैदी बन्दी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनु भएको छ । हाल सो कारागारका कैदीबन्दी स्वतस्फुर्त रूपमा फर्कन थालेका छन् ।
राजविराज कारागारको “बी” ब्लकका २ सय ५ जना कैदी भदौ २५ गते बिहान फरार भएका छन् । कारागारमा आगो लगाइएपछि आगो नियन्त्रणका लागि सबै सुरक्षागार्ड बाहिर गएको मौका छोपी कैदी बन्दी भागेका हुन् । फरार कैदीहरूमध्ये ३१ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनु भयो ।
बीरगञ्ज कारागार, पर्साबाट कैदीबन्दी भाग्न खोज्दा प्रहरीको कारबाहीमा चार जना कैदी घाइते भएका छन् । कारागारको पर्खालमा प्वाल पारेर कैदीबन्दी भाग्न खोज्दा सुरक्षाकर्मीले गरेको हवाइ फायर र लाठीचार्जमा परी उनीहरू घाइते भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनु भयो ।
२ सय ९१ जना कैदी बन्दी रहेको गौर, कारागारबाट २ सय ६४ कैदीबन्दी भदौ २४ गते राती फरार भएकामा ५२ जनालाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
सर्लाही कारागारमा आगजनी गरी भाग्न खोजेका कैदीबन्दीलाई प्रहरीले सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाइफायर र अश्रुग्यास प्रहार गरेका थिए ।
बागमती प्रदेश
बागमती प्रदेश अन्तर्गतका कारागारहरूबाट ७ हजारभन्दा बढी कैदीबन्दीहरू भागेका छन् । काठमाडौंको डिल्लीबजार कारागारका कैदीबन्दीले ०८२ भदौ २५ गते कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको थियो । सम्भावित क्षतिको मध्येनजर गर्दै ४ सय ५० कैदीबन्दीलाई केन्द्रीय कारागार, सुन्धारा सारिएको छ ।
करिब ३ हजार ८ सय रहेको काठमाडौँ केन्द्रीय कारागार, सुन्धारबाट ३ हजार ३ कैदीबन्दी भागेका छन् । अहिले कारागारमा ५ सय कैदीबन्दी रहेका छन् ।
ललितपुरमा रहेको एक मात्र नख्खु कारागारबाट १ हजार २ सय ८० कैदीबन्दी भागेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले फरार १ हजार २ सय ८० कैदीबन्दी मध्ये २४ जना सम्पर्क र निगरानीमा रहेको र १ हजार २ सय ५६ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागार कार्यालय, धादिङका कैदीबन्दीहरूले मुख्य गेट फुटाएर ०८२ भदौ २५ गते दिउँसो करिब २ः४५ बजे बाहिर निस्कन खोजेपछि रोक्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर दुई कैदीबन्दीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भरतपुर कारागारका ७ सय बढी कैदीबन्दी फरार छन् । भदौ २५ गते भरतपुर कारागारमा रहेका कैदीबन्दीले कारागार तोडफोड गर्दै आगजनी गर्दै निस्किएका थिए ।
काभ्रे जिल्ला कारागार कार्यालय, धुलिखेलमा कैदीबन्दीहरूले ०८२ भदौ २५ गते दिउँसो आगजनी र तोडफोड गरेका छन् । आफूहरूलाई पनि रिहा गरिनुपर्ने माग राख्दै कैदीबन्दीहरूले प्रदर्शनसहित आगजनी र तोडफोड गरेका हुन् । कारागार प्रशासनले दिएको जानकारीअनुसार, अहिले कारागारमा २ सय ८३ कैदिबन्दी रहेकोमा उनीहरू सुरक्षित रुपमा रहेका छन् । नेपाली सेनाले आगो नियन्त्रण गर्नेे प्रयास गररिहेको छ । अहिले कारागारको सुरक्षा व्यवस्था नेपाली सेनाले सम्हालेको छ ।
सिन्धुली कारागारमा रहेका ४ सय २८ पुरुष र ४३ महिला गरी कुल ४ सय ७१ कैदीबन्दी भागेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार ०८२ भदौ २५ गते दिउँसो कारागारभित्र आगजनी र नाराजुलुसपछि कैदीबन्दीहरू भागेका हुन् ।
फरारमध्ये ०८२ भदौ २६ गते बिहानसम्म कारागारबाट भागेका १ सय ७१ जना कैदी गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ७२ जना बालबालिकाहरू भागेकोमा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ भने एक जना आफैं फर्किएको सुधार गृहले जनाएको छ
मकवानपुरको क्षेत्रीय कारागार, भीमफेदीमा रहेका १ हजार ६६ कैदीबन्दी मध्ये ४ सय ४० जना फरार भएकोमा १ सय १६ जनालाई गिरफ्तार गरिएको छ ।
रसुवाको धुन्चेस्थित कारागारबाट ०८२ भदौ २५ गते ९८ जना कैदीबन्दी एकैपटक फरार भएकोमा भदौ २६ गते कालिका गाउँपालिका–१ ग्राङ र कालिकास्थानबाट ६१ जना फरार कैदी बन्दी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।
रामेछाप कारागारमा ०८२ भदौ २६ गते बिहान गोली चल्दा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर कैदीबन्दीहरू भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनु भयो । मृत्यु हुनेहरूमा मोरङ जिल्लाका ३५ वर्षीय राजकिशोर यादव र धनुषा जिल्ला भरतपुरका ५८ वर्षीय बिगुरु धोबी रहेका छन् ।
गोली लागेर एकजना कैदी गम्भीर घाइते र अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर नाबाजीसहित जेल तोड्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको रामेछापका प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । अहिले कारागारको अवस्था नियन्त्रणमा आएको थापाले जानकारी दिनुभयो । कारागारमा महिला १६ तथा पुरुष ३ सय १८ गरी ३ सय ३४ जना कैदीबन्दी रहेका छन् ।
गण्डकी प्रदेश
७ सय ७३ जना कैदीबन्दी रहेको कास्की कारागारबाट २७ जना कैदीबन्दी बाहेक सबै फरार भएका छन् । यसैगरी पोखरा महानगरपालिका–१८ स्थित बालसुधार गृहका कर्मचारी डाँसीराम रेग्मीका अनुसार भदौ २४ गते राति १० बजे अज्ञात समूहले घरेलु हतियार देखाई धाकधम्की दिँदै १ सय ९ बालकलाई भगाएको छ ।
जिल्ला कारागार शाखा म्याग्दीमा रहेका ८८ जना कैदीबन्दी मध्ये ७६ जना कैदीबन्दीहरू भागेका छन् । जिल्ला कारागार शाखा म्याग्दीका प्रमुख जेलर प्रतिज्ञा सुवेदीका अनुसार कारागारमा रहेका ६ जना महिला सहित १२ जना मात्रै कारागारमा छन् । चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला कारागार शाखा पर्वतमा रहेको ९३ जना कैदीबन्दीमध्ये १९ जना कैदीबन्दी भागेका छन् भने ७४ जना कैदीबन्दी कारागारमै छन् ।
१ सय ७७ जना रहेको बाग्लुङ जिल्ला कारागारबाट १४ जना कैदीबन्दीले भदौ २५ गते दिउँसो भाग्ने प्रयास गरेपछि सुरक्षा निकायले नियन्त्रणमा लिएको र उनीहरूलाई स्याङ्जा लगायतका अन्य कारागार शाखामा पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा जिल्ला कारागार शाखामा १ सय २ जना कैदीबन्दी रहेकोमा भदौ २५ गते गते साँझ कारागारका चार÷पाँच जना कैदीबन्दीले होहल्ला गरे पनि सुरक्षा निकायले रोक्न सफल भएको छ ।
जिल्ला कारागार शाखा दमौलीमा रहेका सबै ३ सय २६ जना कैदीबन्दी भागेका छन् । कारागार शाखाका निमित्त प्रमुख पुष्पराज राउतले भागेका कैदीबन्दी कोही पनि सम्पर्कमा नआएको बताउनु भयो ।
लुम्बिनी प्रदेश
४ सय ६९ कैदीबन्दी रहेको तुलसीपुर कारागारबाट २ सय ५३ जना कैदीबन्दी फरार भएका छन् । फरार भएकोमध्ये ५३ जना कैदीबन्दीहरू प्रहरीको नियन्त्रणमा आएका छन् ।
कपिलवस्तु कारागारका ४ सय ३५ जना कैदी बन्दीहरू भदौ २५ गते बिहान फरार भए । कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा तोडफोड र आगजनी गरेका छन् । ८५ जना कैदी बन्दीलाई गिरफ्तार गरिसकिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।
१ सय ७६ जना बालबिज्याइकर्ताहरू रहेको नौबस्ता बालसुधार गृहबाट ८० जना फरार भएका छन् । सो क्रममा भएको झडपमा परी पाँच जनाको मृत्यु भएको र दुई जना घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । भागेका मध्ये तीन जना अभिभावकहरू मार्फत सम्पर्कमा आएका छन् ।
यसैगरी बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहमा रहेका १ सय १५ जना बालबन्दी भदौ २५ गते बिहान गेटको ताला तोडेर फरार भए । उक्त गृहमा २ सय २८ बालबिज्याइँकर्ता रहेका थिए । १५ जना बालबिज्याइँकर्ता फर्किसकेको जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले बताए ।
बाँके कारागारका कैदीबन्दीहरूले ०८२ भदौ २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाइ फायर तथा गोली चलाउँदा एक जना कैदीबन्दी घाइते भएका छन् ।घाइते हुनेमा कैलाली जिल्ला घोडघोडी नगरपालिका—२ का ४४ वर्षीय उमेश बम रहेका छन् । उनको दायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । अरु कारगारबाट सबै कैदीबन्दी छुटे, हामी पनि छुट्न पाउनु पर्छ भन्ने माग गर्दै पुरुष कैदीबन्दी राखेको ब्लकबाट १०/१५ जना कैदीबन्दी बाहिर निस्किने क्रममा सुरक्षाकर्मीले रोक्न खोज्दा खाना बनाउने बलेको दाउरा र मट्टितेल छर्केर आगो लगाएको जेलर प्रकाश ढुंगानाले जानकारी दिनु भयो । ३ सय ५० जना क्षमता रहेको बाँके कारागारमा हाल ७ सय ७० (६ सय ६९ पुरुष र एक महिला) कैदीबन्दीहरु रहेको जेलर ढुंगानाले बताउनु भयो । हाल कारागार सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयो ।
५ सय ७५ जना कैदीबन्दी भएको नवलपरासी पश्चिम जिल्ला कारागारबाट ०८२ भदौ २५ गते बिहान ५ सय ४६ बन्दीहरू फरार भएका छन् । फरार भएकामध्ये पाँच जना कैदी आफै कारागारमा हाजिर भएको कारागार सहायक जितेन्द्र चौधरीले बताए ।
कर्णाली प्रदेश
१ सय ५८ जना कैदीबन्दी भएको रुकुमपश्चिम कारागारबाट ८८ जना फरार भएकोमा ४५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ९७ जना कैदीबन्दी भएको जुम्ला कारागारबाट फरार भएकोमा दुई जना सम्पर्कमा आएका छन् ।
डोल्पा कारागारका कैदीबन्दीले दुई ओटा सिलिण्डर पड्काएर भाग्ने प्रयास गरेपनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई भाग्नबाट रोकेका हुन् । कर्णालीका १० जिल्ला मध्ये हुम्ला र मुगुमा कारागार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका सुर्खेत, सल्यान, जाजरकोट र दैलेखका कारागारमा कुनै घटना भएका छैनन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन ओटै सुरक्षा निकायले कडा निगरानीका साथ कारागारको सुरक्षा दिइरहेका छन् ।
डोल्पा कारागारका कैदीबन्दीले दुई ओटा सिलिण्डर पड्काएर भाग्ने प्रयास गरेपनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई भाग्नबाट रोकेका हुन् । कर्णालीका १० जिल्ला मध्ये हुम्ला र मुगुमा कारागार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका सुर्खेत, सल्यान, जाजरकोट र दैलेखका कारागारमा कुनै घटना भएका छैनन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन ओटै सुरक्षा निकायले कडा निगरानीका साथ कारागारको सुरक्षा दिइरहेका छन् ।
सुदूरपश्चिम प्रदेश
कैलाली जिल्ला कारागारमा ५५ जना महिलासहित ६ सय ६७ जना कैदीबन्दी रहेकोमा ६ सय ६७ जना कैदीबन्दी भागेका छन् । जसमध्ये दई जना कैदीबन्दीहरूलाई भदौ २५ गते गिरफ्तार गरिएको र अन्य फरार कैदीबन्दीहरूको खोजी कार्य भइरहेको कैलाली जिल्ला कारागारका जेलर चिरञ्जीवी सापकोटाले बताउनु भयो । यसक्रममा दुई जनालाई गिरफ्तार गरिएको र केही कैदीबन्दीहरू स्वस्फुर्त रुपमा सम्पर्कमा आइरहेको समेत जेलर सापकोटाले बताउनु भयो ।
डडेल्धुरा जिल्ला कारागारबाट फरार भएका ८५ जना कैदीबन्दी मध्ये ३१ जनालाई गिरफ्तार गरिएको र अन्य फरारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला कारागार,बझाङमा रहेका ६६ जना कैदीबन्दी मध्ये ६५ जना फरार रहेकोमा पाँच जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैतडी जिल्ला कारागारमा रहेका ६२ जना कैदीबन्दी मध्ये ६१ फरार भएको र उनीहरूको खोजी कार्य भइरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कञ्चनपुर कारागारमा रहेका ४ सय ७६ कैदीबन्दीमध्ये ४ सय ५४ जना फरार भएकोमा २१ जनालाई गिरफ्तार गरिएको छ ।
डोटी बालसुधार गृहमा ५३ जनामध्ये ५२ जना फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अछाम जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले आफूहरूलाई बाहिर जान दिनु पर्ने माग राखी ०८२ भदौ २४ गते आगजनी र तोडफोड गरेपछि सुरक्षाकर्मी र कैदीबन्दीबिच झडप भएको थियो । झडपका क्रममा कैदीहरूले कारागारका संरचना तोडफोड र आगजनी गरेको भए पनि सुरक्षाकर्मीले अवस्था नियन्ञणमा लिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनु भयो ।
जिल्ला कारागार, दार्चुलाबाट ७१ जना कैदीबन्दी भागेका छन् । कारागारमा रहेका ७७ मध्ये ७१ जना कैदीबन्दी भदौ २४ गते भागेकोमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य कैदीबन्दीहरूको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
