जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका सञ्जय साह टक्लालाई ०८२ भदौ २६ गते काभ्रे जिल्ला स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार टक्लालाई गिरफ्तार गरी भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएको हो ।
पूर्वराज्यमन्त्री समेत रहेका टक्ला जनकपुरको रमानन्द चोकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका थिए । उक्त विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो । साथै, रेडियो टुडेका सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार ठहरिएका थिए ।
हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले अन्य कैदीसहित जेलभित्र आगजनी गर्दै प्रदर्शनकै बेला भागेका थिए । सुरुमा सहकारी ठगी अभियोगमा थुनामा रहेका रवि लामीछानेलाई बाहिर निकालिएको र त्यसपछि साहसहित अन्य कैदीहरू भागेको प्रहरीले जनाएको छ ।
कारागारबाट भागेका टक्ला सहित अन्य १७ जनालाई ०८२ भदौ २७ गते डिल्लीबजार कारागारका पठाउने तयारी भइरहेको छ ।