इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले ०८२ भदौ २४ गते राति १० बजेदेखि जिल्लाभरी अनिश्चितकालसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
कर्फ्यु आदेश उल्लङ्गघन गर्दै इन्द्रावती गाउँपालिका— ७ मा रहेको भिमटार प्रहरी चौकीमा ०८२ भदौ २४ गते राति आन्दोलनमा संलग्न जेन्जीको नाममा आएका ३५/४० जनाको समूहले आक्रमण गरेका छन् । आक्रमणबाट प्रहरी जवान रामप्रसाद नेपाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।
आन्दोलनकारीको नाममा आएका समूहले आक्रमण गरेपछि उक्त प्रहरी चौकी इलाका प्रहरी कार्यालय नवलपुरमा गाभिएको छ । आक्रमणबाट प्रहरी चौकी अगाडीको प्रहरी पोष्टमा आगजनी गरिएको छ भने चौकी भवनमा ढुङ्गामुढा गरी क्षति पुर्याइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गरी ०८२ भदौ २५ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएकोमा जिल्ला भित्रका सबै स्थानीय तहका कार्यालय रहेको स्थान र वडा कार्यालय रहेका स्थानहरूमा निषेधाज्ञालाई निरन्तरता दिई भदौ २५ गते साँझ ६ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म आवतजावत गर्न, भेला हुन, प्रदर्शन, जुलुस, हुल दङ्गा गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।