INSEC Online

📅 २०८३ जेष्ठ २२

पादुका त्रिवेणी धाममा दलित महिलाहरु पूजा गर्नबाट वञ्चित

बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालकाको बिचमा रहेको पादुका त्रिवेणी धाममा दलित महिलालाई पूजा गर्नबाट वञ्चित गरिएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ निवासी कोल्टीस्थित रेडियो अपी एफएममा कार्यरत पत्रकार रमिता बिक सहित चार जना दलित महिलालाई पादुका त्रिवेणी धामका पुजारी मष्टिप्रसाद पाध्यायले मन्दिर प्रवेशमा रोक लागाएका हुन् ।

आफू सहित चार जना महिला ०८२ भदौ १० गते बिहान तीजको अवसर पारेर पूजा गर्न पादुका  त्रिवेणी धाममा पुग्दा धामका पुजारी पाध्यायले दलितले मन्दिर प्रवेश गर्न नपाउने भन्दै पूजा गर्नबाट रोकेको पीडित रमिता बिकले बताउनु भयो ।

मन्दिरमा पूजा गर्न नदिएको भन्दै पुजारीविरुद्ध भदौ १० गते कोल्टि इलाका प्रहरी कार्यालयमा उजुरी दिएको समेत बिकले बताउनु भयो ।

पुजारीले पादुका मन्दिर प्रवेश निषेध गरेको भन्दै पीडित पक्षबाट उजुरी प्राप्त भएकोले सोही उजुरीका आधारमा घटनाको अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, बाजुरा डिएसपी इकवाल हवारीले बताउनु भयो ।

नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र समान अधिकारको सुनिश्चितता दिएको छ । संविधानको धारा २४ मा छुवाछूत र जातीय विभेदलाई निषेध गरिएको छ ।

कसैले कुनै पनि व्यक्तिलाई जात, धर्म, संस्कृति, उत्पत्ति, पेशा, व्यवसायलगायतका कारणले विभेद गरेमा जातीय तथा अन्य छुवाछूत भेदभाव (कसूर तथा सजाय ) ऐन २०६८ मा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि २ लाख रुपियाँसम्म जरिबानाको समेत व्यवस्था गरिएको छ ।

अन्य

भिडियो