INSEC Online

अखाद्य वस्तु भेटिएपछि पानी उद्योगमा सिल

घोराही उपमहानगरपालिका –१४ मा रहेको स्वर्गद्वारी ड्रिङकीङ वाटरमा अखाद्य वस्तु भेटिएपछि जिल्ला प्रशासन कार्यालय दाङले उद्योग सिल गरेको छ ।

दाङ उद्योग वाणिज्य संघका सदस्य एवं उपभोक्ता ६० वर्षीय विष्णुप्रसाद रिजालले भदौ ५ गते घोराहीको एक पसलबाट पिउनका लागि खरिद गर्नुभएको स्वर्गद्वारी ड्रिङकीङ वाटरको बोतलभित्र कालो पदार्थ भेटिएपछि भदौ ५ गते नै जिल्ला प्रशासन कार्यालय दाङमा मौखिक उजुरी दिनुभएको थियो । त्यही उजुरीको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारसहितको टोलीले तत्काल उद्योगको अनुगन गर्दा उद्योगमा उचित सरसफाइ नगरेको, उत्पादनको अभिलेख कतै पनि नराखिएकोलगायत समस्या देखेपछि उद्योग सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताउनुभयो ।

उद्योगबाट २०२५ जुलाई १२ मा उत्पादित ब्याच नम्बर १६ को एक लिटरको बोतलमा खुला आँखाले देखिने गरी सेतो तथा कालो अखाध्य वस्तु फेला परेपछि पानीको परीक्षण रिपोर्ट नआउँदासम्म उत्पादन बन्द गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पानीको बोतल समेत सिल गरेर परीक्षणका लागि लगेको छ भने त्यसको रिपोर्ट नआउँदासम्म उत्पादन, बिक्री, वितरणमा रोक लगाएको कार्यालय प्रमुख पदम बरालले बताउनुभयो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १५ ‘क’ ले सडेगलेको, फोहोरमैला मिसिएको वा विसाक्त अवस्थामा राखिएको वा तयार पारिएको दुषित खाद्य पदार्थ विक्री वितरण गर्न नपाउने उल्लेख गरेको छ । ऐनले नै दफा ४० मा त्यस्तो फेला परे कसुर ठहर्ने उल्लेख गर्दै दफा ४२ ‘ख’ मा पाँच वर्षसम्म कैद वा ५ लाख रुपियाँ जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था पनि गरेको छ । उद्योग सञ्चालक ४१ वर्षीय धर्मेन्द्र केसीले भने केही कमजोरी स्वीकार्दै खाद्य स्वच्छतामा सुधार ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

अन्य

भिडियो