कर्णाली प्रदेशका १० जिल्ला मध्ये चार जिल्लाका कारागारमा आमासँगै बालबालिका बस्न बाध्य भएका छन् । प्रदेश राजधानी सुर्खेत स्थित कारागारमा तीन जना आश्रित बालबालिका छन् । जसमा दुई जना बालिका र एक जना बालक रहेका छन् । उनीहरु आमासँगै जेल जीवन बिताइरहेका छन् ।
सुर्खेत कारागारकी जेलर लक्ष्मी खरेलका अनुसार आश्रित बालबालिका पाँच वर्ष पुगेपछि घरमा रहेका अभिभावकको जिम्मा लगाउने गरिन्छ । उहाँले भन्नुभयो, ‘अहिले यो कारागारमा रहेका बालबालिका दुई-तीन वर्षका छन् । घरमा कोही पनि अभिभावक नभएको खण्डमा सरोकारवाला निकायको पहलमा कतै संघसंस्था मार्फत पढाउने व्यवस्था गर्ने गरिन्छ । गत वर्ष घरमा कोही पनि अभिभावक नभएको एक जना बालकलाई संघसंस्था मार्फत काठमाडौँ पठाएका थियो । अहिले उनी काठमाडौँमै बसेर पढिरहेका छन् ।’
रुकुमपश्चिम कारागारमा पाँच वर्षीय एक जना आश्रित बालक छन् । कर्तव्य ज्यान मुद्दामा आमासँग बालक कारागार पुगेका हुन् । उनी स्कुल जाने उमेरका भइसक्दा पनि पढ्न लेख्न पाएका छैनन् । जेलर केशव ओलीका अनुसार बालकको स्कुल जाने उमेर भएपछि घरमा पठाउने तयारी गरिएको छ ।
सल्यान कारागारमा एक जना आश्रित बालिका छिन् । उनी तीन वर्ष पूरा भएर चार वर्षतिर लागिन् । उनले पनि स्कुल जाने वातावरण पाएकी छैनन् । कारागारमा अभिभावकसँगै रहेका बालबालिकालाई पाँच वर्ष भएपछि मात्रै घरमा पठाउने व्यवस्था छ । जेलर भीमबहादुर घर्तीका अनुसार उनी बालिका बहुविवाह मुद्दाका आमासँग कारागार पुगेकी हुन् ।
जुम्ला कारागारमा पनि एक जना आश्रित बालक छन् । उनी चार वर्षका भए । तर स्कुल जान पाएका छैनन् । जेलर गयाप्रसाद पाण्डेका अनुसार अर्को वर्ष बालक पाँच वर्षका पुग्छन् । ‘अर्को वर्षदेखि घरमा रहेका अभिभावकको जिम्मा लगाएर पठनपाठन गर्ने वातावरण मिलाउने छौँ,’ उहाँले भन्नुभयो । कारागार व्यवस्थापन विभाग २०८२ असार महिनाको मास्केवारी वितरण अनुसार देशभर पाँच वर्ष मुनिका ६४ जना आश्रित बालबालिका रहेको जनाएको छ ।
पछिल्लो समय दुई-तीन वर्षकै उमेरदेखि बालबालिकालाई मन्टेश्वरी तथा बाल विकास केन्द्रमा भर्ना गर्ने गरिन्छ । सानै उमेरदेखि बालबालिकाको स्कूल जाने आनीबानीको विकास होस्, पढ्ने लेख्न र मनोरञ्जनको बृद्धि विकास होस् भन्ने उद्देश्यका साथ निजी तवरबाट मन्टेश्वरी र सरकारी तवरबाट बाल विकास केन्द्र स्थापना गरिएका छन् । तर, अभिभावकले गर्ने अपराधसँगै घरपरिवार र समाजमा उनीहरुको संरक्षण नहुँदा कारागार बस्न बाध्य भएका छन् ।