डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी १३ वर्षीया बालिका आरती रोकायाको पखालाका कारण मृत्यु भएको छ । तीन दिनदेखि पखाला लागेकी रोकायाको ०८२ साउन २६ गते बिहान साढे ५ बजे घरमै मृत्यु भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बताउनु भयो ।
पखाला लागेकी बालिकालाई उपचारका लागि समयमै स्वास्थ्य संस्था नलगिएको कारण घरमै मृत्यु भएको हो । पखाला लागेकी बालिकालाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाँक्री बोलाएर झारफुक गरिएको र स्वास्थ्यसंस्थामा जान ढिलाइ गरेपछि बालिकाको मृत्यु भएको स्थानीय शिक्षक भरत नेगीले बताउनु भयो ।
महेश्वरी माध्यमिक विद्यालय, न्वाघरमा कक्षा ८ मा अध्ययनरत बालिकाको मृत्यु भएपछि हाल जोखल्ली गाउँमा माहामारीको त्रास समेत बढेको छ ।
मृतकका बुबा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको मृत्यु भएपछि घर फर्किन लागेको शिक्षक नेगीले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘पखालाका कारण एक जनाको मृत्यु भयो । दुई जनामा पखाला देखिएपछि हाडाकोट स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाइएको छ ।’
सोही घरमा थप दुई जना बालबालिकामा पखालाको समस्या देखिएको सूचना प्राप्त भएको भए पनि जोखल्ली गाउँ स्वास्थ्यचौकीबाट टाढा रहेको र अहिले आफू उक्त गाउँमा गइरहेको हाडाकोट स्वास्थ्यचौकीका प्रमुख विरेन्द्र बोहराले बताउनु भयो । गाउँमा पुगेपछि मात्रै घटनाका विषयमा एकिन हुने उहाँको भनाइ छ ।