जिल्ला कारागार, कैलालीमा ०८२ साउन २२ गते साँझ कैदीबन्दीबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।
कारागार भित्र ठाउँको अभाव भएपछि साउन २२ गते केही कैदीबन्दीहरुलाई अन्य जिल्ला कारागारमा स्थान्तरण गर्न खोज्दा कैदीबन्दीबिच झडप भएको थियो । झडपमा परी जिल्ला कारागार, कैलालीमा थुनामा राखिएका राहुल राना, धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र नविन राना घाइते भएको जिल्ला कारागार, कैलालीका निमित्त प्रमुख रामकुमार चौधरीले बताउनु भयो ।
कैदीबन्दीहरुको सरुवाको विषयमा विवाद हुँदा कैदीबन्दीरुबिच झडप भएको र झडपमा परी टाउकोमा गहिरो चोट लागि घाइते भएका राहुल रानाको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ। कारागारमा व्यवस्थापन तथा शान्तिसुरक्षा कायम गर्न पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
कारागार भित्र ‘ए’ ब्लकमा राखिएका विभिन्न आपराधिक गतिविधिमा संलग्न भई कैद भुक्तान गरिरहेका १८/१९ जनाको समूहले कारागार भित्र शान्तिसुरक्षालाई खलल पुर्याउने, अन्य कैदीबन्दीहरुसँग झगडा गर्ने तथा कुटपिट गरी पैसा असुल्ने, राशन, तरकारी खोस्ने लगायतका आपराधिक कार्यहरु गर्दै आएकाले आफूहरुको शान्तिसुरक्षाको व्यवस्था मिलाउन आवश्यक भएको जिल्ला कारागार, कैलालीका एक जना कैदीले फोन सम्पर्कमा बताउनु भयो।
कैदीबन्दीहरुबिच झडप भएपछि कारागारको अनुगमन गरी घटनाको अनुसन्धान भइरहेको र शान्ति सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताए ।
जिल्ला कारागार, कैलालीमा पछिल्लो समय कुटपिट, झडप र मृत्युसम्मका घटनाहरु निरन्तर रुपमा भइरहेका छन् । जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरिश पालीको ०८२ असार २ गते उपचारका क्रममा मृत्यभएपछि प्रहरीले घटनाका आरोपित जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यारत सई हरजित नाथलाई ०८२ असार ५ गते गिरफ्तार गरेको थियो ।