INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि अमानवीय व्यवहार: कारबाहीको माग

घोराही उपमहानगरपालिका–३ की २८ वर्षीया मुक्तकम्लरी गीता चौधरीमाथि लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माका स्वकीय सचिव ३६ वर्षीय शरद विसीले अमानवीय व्यवहार गरेको पीडितले ०८२ साउन २२ गते घोराहीमा पत्रकार सम्मेलन गरेर बताएकी छन् ।

साउन १५ गते घोराहीमा भएको जग्गा विवादलाई आधार बनाउँदै शरद विसीले पीडित परिवारमाथि हातपात गरेको आरोप लगाएकी छिन् । पीडित गीता चौधरीका अनुसार “शरद विसीले पहिले मेरो घरको शौचालय, वाथरुम र नजिकैको इनारको माथिल्लो भाग तोडफोड गरे । त्यसपछि उनले सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर इनारमा मिसाइदिए । घरमा रहेका खाना पकाउने भाँडाकुँडा, लगाउने लत्ताकपडा र दाउरा पनि इनारमै फालिदिए ।”

Photo 2025-08-08 Dang (4)

उनले भनिन्, “यस घटनापछि दुई छोराहरु सहित हामी विस्थापित हुन बाध्य भयौं ।” पीडित परिवारले घरको सामान, खाना पकाउने भाँडाकुँडा, लत्ताकपडा र दाउरा इनारमै फालिदिएको विषयले उनीहरूको जीवनलाई झन पीडादायक बनाएको छ ।

Photo 2025-08-08 Dang (3)

मुक्तकम्लरी गीता चौधरीले बताइन्, “म र मेरो परिवार धम्की र हिंसाको सामना गर्दैछौं । मेरा पति हाल दुवइमा छन् भने म र मेरा दुई छोराहरु घरबाट विस्थापित भएर सुरक्षित स्थानमा बस्न बाध्य भएका छौं ।” उनले थपिन्, “हामीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि कुनै ठोस कदम नलिइएकोले हामी निराश भएका छौं ।”

Photo 2025-08-08 Dang (2)

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले गीता र शरदको जग्गा विवादको विषयमा घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा मुद्दा जारी रहेकोले त्यहीँबाटै समस्या गर्न आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक हुमाकुमारी डिसीले “हामीलाई अमानवीय व्यवहारको विषयमा कुनै जानकारी छैन । तर, जग्गा विवादको विषयमा छलफल भइरहेको छ । हामी दुवै पक्षलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्छौं ।” उनले थपिन्, “अमावीय व्यवहार भएको घटना हो भने आफूहरूले हेर्न नमिल्ने बताउनु भयो ।”

मुक्त कमैया समाज दाङले साउन २२ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै, “मुक्तकम्लरी र उनका परिवारमाथि गरिएको अमानवीय व्यवहार अत्यन्त निन्दनीय छ । हामी पीडित परिवारलाई उचित न्याय दिलाउन र दोषीमाथि कारबाही गर्न माग गर्दछौं । यदि प्रशासनले आवश्यक कदम नचाल्ने हो भने हामी सबै मिलेर आन्दोलनमा उत्रिने चेतावनी दिन्छौं ।”

Photo 2025-08-08 Dang (1)

यसैगरी भूमि अधिकार तथा श्रमिक संगठन नेपाल दाङका अध्यक्ष बसन्त नेपालीले साउन २२ गते विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । “हामीले यस घटनालाई गम्भीर रूपमा लिएका छौं र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो