गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच र उपयोगमा सुधार ल्याई नागरिकको स्वास्थ्य सेवाको सुनिश्चित गर्ने उद्धेश्यले सरकारले ०७५ फागुन २३ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। हालसम्म स्वास्थ्य बिमामा १५ प्रतिशत नागरिक मात्रै आवद्ध भएका छन् । स्वास्थ्य बिमा लागु गरिएको सात वर्ष बितिसम्दा पनि जिल्लाका ८५ प्रतिशित नागरिकहरु अझै स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ ।
जनगणना ०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या ५ लाख १७ हजार ६ सय ४५ रहेकोमा हालसम्म ७२ हजार नागरिक मात्रै स्वास्थ्य बिमामा आवद्ध रहेको स्वास्थ्य बिमा कार्यालय, कञ्चनपुरका प्रमुख ललित जोशीले बताउनु भयो ।
भिमदत्त नगरपालिकामा २३ हजार ८ सय ६९, बेदकोट नगरपालिकामा ८ हजार ३ सय ३०, दोधराचाँदनी नगरपालिकामा ५ हजार ४ सय २०, शुक्लाँफाटा नगरपालिकामा ४ हजार ९ सय ७७, कृष्णपुर नगरपालिकामा ७ हजार ६ सय ६९, बेलौरी नगरपालिकामा ८ हजार ९ सय ५३, पूर्नवास नगरपालिकामा ८ हजार ३ सय ५१, बेल्डाँडी गाउँपालिकामा २ हजार ६ सय ७८ र लालझाँडी गाउँपालिकामा २ हजार १ सय ४८ जनाले मात्रै स्वास्थ्य बिमा गरेको उहाँले बताउनु भयो । स्वास्थ्य बीमा कार्यक्रम लागुभएको लामो समय बितिसक्दा समेत नागरिकको आकर्षण बढ्न नसकेको जोशीको भनाइ छ ।
जिल्लामा हालसम्म ७२ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् जुन कुल जनसङ्ख्याको १५ प्रतिशत मात्रै हुन आउँछ । अझै पनि ८५ प्रतिशत नागरिक बिमाको पहुँच भन्दा बाहिर छन् । नागरिकलाई स्वास्थ्य बिमा गर्दा प्राप्त हुने फाइदाका बारेमा आवश्यकताअनुसार सूचित गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बीमाको क्षेत्रमा कार्यरत कर्मचारी सीमा देवकोटाले बताउनु भयो ।
वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिम अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक जानकारी बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितले उपचार सेवा र औषधी नपाउनु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु आदि कारणले पनि स्वास्थ्य बिमा प्रति नागिरकको आकर्षण नभएको उहाँले बताउनु भयो ।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । राष्ट्रिय स्वास्थ्य बिमा नीतिले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार गरी स्वास्थ्य बीमाबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति लिएको छ । तर, पनि जिल्लाको कुल जनसङ्ख्याको ८५ प्रतिशत नागरिक अझै पनि स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको छ ।
सरकारी अस्पतालबाटै सुविधा लिनु पर्ने भएकाले पनि सदरमुकाममा हुने नीजि क्लिनिकमा पुगेर औषधी उपचार गर्ने जनताको बानी परेकाले पनि बिमातर्फ आकर्षित हुन समस्या भइरहेको स्वास्थ्य बिमा प्रमुख जोशीले बताउनु भयो । गुणस्तरीय सेवा सरकारी अस्पतालमा पाउने भए पनि छिटो सुविधा खोज्ने बानी परेका कारण बिमातर्फ जनता आउन हिच्किचाउने गरेका छन् ।
गैसस महासंघ, कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले स्वास्थ्य बिमा दूरदराजमा पुग्न नसकेको र अहिले पनि बिमा बजार केन्द्रित मात्रै देखिएकाले यसलाई थप प्रभावकारी बनाउन स्वास्थ्य बिमा बोर्डले नै पहलकदमी लिनु पर्ने बताउनु भयो ।
जिल्लामा ३२ हजार ९६ परिवारका ७२ हजार ३ सय ९५ जना विमित सदस्यहरुले स्वास्थ्य बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा प्रमुख ललित जोशीले बताउनु भयो । ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रम अन्तर्गत प्रत्येक घरका ज्येष्ठ नागरिकहरुको बिमा गरिएको छ । स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन नहुँदा यसको प्रभावकारिता कमजोर हुँदै गएको हो । स्वास्थ्य बिमा लिन अपनाउनु पर्ने झण्झटिलो प्रकृयाका कारण र खोजेको सबै औषधी अस्पतालमा नपाउँदा पनि सेवाग्राहीहरुको स्वास्थ्य बिमाप्रति चासो कम हुँदै गएको स्वास्थ्य बीमा प्रमुख जोशीको भनाइ छ ।