INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारबाटै सुरक्षित छैनन् बालिका

रुकुमपश्चिममा १४ वर्षीया बालिकालाई २०८१ माघ ११ गते आफ्नै ३६ वर्षीय बाबुले बलात्कार गरे । घटना सुरुमा गाउँघरमै मिलाउने प्रयास गरियो । तर, बालिकाले बाबुविरुद्ध फागुन ५ गते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा उजुरी दिइन् । आरोपितलाई फागुन ५ गते प्रहरीले गिरफ्तार गर्‍यो । त्यसपछि घटना बाहिर आयो । त्यसबिचमा पीडित बालिकालाई स्थानीय जनप्रतिनिधिदेखि विभिन्न तहका व्यक्तिहरुले बाबुलाई नफसाउन अनुरोध गरे । उनीहरुले बयान समेत बदल्न अनुरोध गरे । त्यति मात्रै होइन, वैदेशिक रोजगारीमा गएकी आमाले समेत बयान बदल्न उनलाई दबाब दिइन् । तर, बालिकाले कुनैपनि हालतमा बाबुको अपराधलाई स्वीकार गर्न सकिनन् । कसैले भनेको मानिनन् । जिल्ला अदालतले फागुन २५ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । अहिले बालिका संरक्षणको पर्खाइमा छिन् । घर परिवार र नातेदारले समेत उनलाई राम्रो व्यवहार गर्दैनन् । उनी मात्रै होइन, घरमा उनकी दिदी र भाइ समेत बिचल्लीमा छन् । उनलाई फुपुले राखेकी छन् । फुपुले सम्पर्कमा आउन दिएकी छैनन् । त्यही घटनाका कारण बालिका मानसिक समस्यामा छिन् ।

रुकुमपश्चिमकै १२ वर्षीया बालिकालाई ०८२ असार ३ गते ५२ वर्षीय बाबुले बलात्कार गरे । बालिकाले बाबुविरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा उजुरी दिइन् । प्रहरीले आरोपितलाई गिरफ्तार गर्‍यो । जिल्ला अदालतको साउन ५ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । बालिकाका दिदी र भाइ छन् । आमाको मृत्यु भएपछि बाबुले अर्को विवाह गरेका थिए । घटना मिलाउनका लागि समेत सौतेनी आमा र गाउँलेले बालिकालाई धेरै फकाए । तर उनले कसैले भनेको मानिनन् । फलस्वरुप बालिका अहिले छिमेकीको घरमा बस्न बाध्य भएकी छन् ।

त्यस्तै रुकुमपश्चिमकै अर्की १४ वर्षीया बालिका भारतमा आफ्नै सौतेलो बाबुबाट बलात्कृत भइन् । उनकी आमाले अर्को विवाह गरेपछि उनी आमासँगै आइन् । आमा र सौतेलो बाबु मजदुरीका लागि भारत गए । दुई वर्षदेखि बालिका सौतेलो बाबुबाट बलात्कृत भइन् । त्यो थाहा पाएपछि आमाले उनलाई एक महिना अगाडी नेपाल पठाइन् । अहिले बालिका एक गैरसरकारी संस्थाको सहयोगमा उपचाररत छिन् । तर सौतेलो बाबुविरुद्ध अहिलेसम्म पनि प्रहरीमा उजुरी परेको छैन ।

अन्य व्यक्तिबाट बलात्कार भएकाहरु भन्दा परिवारबाटै बलात्कृत भएकाहरुलाई समाजमा पुनःस्थापना गर्न समस्या भएको एकद्वार संकट व्यवस्थापन केन्द्र रुकुमपश्चिमकी फोकल पर्सन प्रेमा केसी बताउनु हुन्छ । ‘बुबा र आफन्तबाट बलात्कृत बालिकाहरुलाई पुनःस्थापना गर्न निकै समस्या हुन्छ । त्यति मात्रै होइन, न्याय पाउन पनि धेरै बाधा अड्चनहरु आउँछन्,’ उहाँले भन्नुभयो, ‘सामाजिक, राजनीतिक लगायतका प्रभावहरु पर्छन् । जसका कारण न उनीहरुलाई परिवारको साथ हुन्छ, नत समाजको नै ।’ फोकल पर्सन केसीका अनुसार यस्ता घटनाहरु आमाको मृत्यु, आमाले अर्को विवाह गरेपछि र वैदेशिक रोजगारीमा गएपछि बढी आउने गरेका छन् । यस्ता घटनाका पीडितहरु प्रायःजसो प्रहरीसम्म आउनै नमान्ने गरेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको तथ्याङ्क अनुसार ०८१ पुस १७ गतेदेखि ०८२ असारसम्म चार ओटा बालिका बलात्कारका घटना र दुई ओटा बाल यौन दुव्र्यवहारका घटना दर्ता भएका छन् । प्रहरीका अनुसार यी घटनामा तीन, नौ र १५ वर्षीया बालिकाहरु पीडित भएका छन् । त्यस्तै घटनामा १४ वर्षीय बालकदेखि ६० वर्षीय ज्येष्ठ नागरिकसम्म संलग्न छन् ।

माथि उल्लेख गरिएका घटना त बाबुबाटै घटेका भए । छिमेकीबाट समेत बालिका सुरक्षित छैनन् भन्ने उदाहरण सल्यानको अर्को घटनाले देखाउँछ । चार, पाँच र ६ वर्षीया तीन जना बालिकालाई एकै दिन बलात्कार गरेको आरोपमा प्रहरीले कालीमाटी गाउँपालिका–४ खैरेनीका ५८ वर्षीय इन्द्रबहादुर पुनलाई ०८१ चैत १५ गते सल्यान प्रहरीले गिरफ्तार ग¥यो । आफ्नो पसलबाट पटक–पटक चकलेट दिएर तीनै जना बालिकालाई आरोपितले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । ०८२ वैशाख ८ गते जिल्ला अदालत सल्यानको आदेशले आरोपितलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्क अनुसार ०८१ पुस १७ गतेदेखि ०८२ असारसम्म आठ जना बालिका बलात्कृत भएका छन् भने एक बालिकामाथि यौन दुव्र्यवहार भएको छ । प्रहरीका अनुसार तीन देखि १२ वर्षसम्मका बालिका बलात्कृत भएका छन् । त्यस्तै १९ देखि ६५ वर्षीय पुरुष घटनामा संलग्न छन् ।

कर्णालीमा सन् २०२५ को जनवरीदेखि जुलाईसम्म ४५ जना बालिका बलात्कृत भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । ‘पछिल्लो समय घरपरिवार र आफन्तबाटै बालिका र महिला असुरक्षित बन्दै गएका छन् । हरेक वर्ष बालिकामाथि हुने घटनामा वृद्धि भइरहेका छन्,’ उहाँले भन्नुभयोे, ‘तीनै तहका सरकार र गैरसरकारी संघसंस्थाहरुले सामुहिकतामा काम गर्न सके मात्रै यस्ता घटनाको न्यूनिकरण गर्न सकिन्छ ।’ सन् २०२० को जनवरीदेखि सन् २०२५ को जुलाईसम्म कर्णाली प्रदेशमा ३ सय २५ जना बालिकाहरु बलात्कृत भएको इन्सेकले अभिलेख गरेको छ ।

पीडितलाई दोषी ठान्ने प्रवृतिका कारण बलात्कृत बालिकाहरुलाई समाजमा पुनस्थापित गर्न समस्या भएको महिला बालबालिकाको क्षेत्रमा कार्यरत आवाज संस्थाकी निर्देशक पवित्रा शाही बताउनुहुन्छ । ‘बलात्कृत बालिकालाई समाजमा पुनस्थापना गर्नु सबैभन्दा चुनौतीपूर्ण पाटो हो । किनभने समाजले पीडितलाई दोषी ठान्ने प्रवृत्ति अझै हटेको छैन । उनीहरुलाई हौसला दिनुको सट्टा आरोप लगाइन्छ, घृणा गरिन्छ र त्यसले बालिकाको मानसिक अवस्थालाई झन् कमजोर बनाउँछ ।’ उहाँले भन्नुभयो, ‘पुनःस्थापनाको बाटोमा सबैभन्दा ठूलो अवरोध सामाजिक धारणा र व्यवहार हो । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।’ उनले बालिकामाथिको बलात्कारजस्ता जघन्य अपराधपछिको सबैभन्दा संवेदनशील विषय पुर्नस्थापना भएको भन्दै पीडितको सुरक्षासहित स्वास्थ्य, मनोपरामर्श, न्याय र शिक्षाको सुनिश्चितता राज्यको दायित्व हुनुपर्ने उहाँको भनाइ छ ।

तीन वर्षमा ३ सय ५३ बालिका बलात्कृत
कर्णाली प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षमा ३ सय ५३ बालिका बलात्कारको घटनामा परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ सय ३८, आर्थिक वर्ष ०८०/०८१ मा १ सय १९ र ०८१/०८२ मा ९६ जना बालिका बलात्कृत भएका छन् । यस अवधिमा ३९ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन् भने ३ सय १४ जना बालिका अन्य व्यक्तिहरूबाट बलात्कृत भएका छन् ।

अन्य

भिडियो