INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीको पीसीआर परीक्षण गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना सङक्रमण देखिएका कारागारका सम्पूर्ण व्यक्तिको पीसीआर परीक्षण गर्न गृह मन्त्रलायलाई निर्देशन दिएको छ । भदौ १४ गते बसेको समितिको भर्चुअल बैठकले हालसम्म कोरोना पोजेटिभ देखिएका कारागारहरूमा रहेका सबै कैदीबन्दीहरूको पीसीआर र परीक्षण गर्न निर्देशन दिएको हो ।

‘कारागारभित्रका कैदीबन्दीको अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसारको व्यवस्था मिलाउनुपर्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘कोभिड १९ सङ्क्रमण देखिएका सबै कैदीबन्दीको पीसीआर परीक्षणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई समिति निर्देशन दिन्छ ।’

कारागारभित्र रहेका व्यक्ति बाहिर जाने अवस्था नभएकाले गम्भीर मानवीय संवेदनासँग जोडिएको विषयमा सचेत रहन समेत समितिले निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।

उहाँले कोरोनाको सङ्क्रमण देखिएका सबै कारागारहरूमा रहेका कैदी बन्दीहरूको स्वास्थ्य परीक्षण भए मात्र उनिहरूलाई कोरोनाबाट जोगाउन सकिने बताउनुभयो । उहाँका अनुसार समितिले प्रहरीहरूलाई समेत आवश्यक सङ्ख्यामा पिपिईको व्यवस्था गर्न गृह मन्त्रलायलाई सुझाव दिएको छ ।

समिति सभापति श्रेष्ठले पिपिई, ग्लोब्स, मास्कलगायत प्राप्त नभएको गुनासोमा अनुगमन गर्न निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य स्थिति हेरेर कैदीबन्दीहरूलाई प्यारोलमा राख्न, खुल्ला कारागारमा राख्न तथा जोखिम न्यूनीकरणका लागि अलग/अलग ठाउँमा राख्न सुझाव दिनु दिनु भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार र प्रहरी ब्यारेकमा कोरोनाको सङ्क्रमण देखिनु चिन्ताको विषय भएको भन्दै सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो । यस्तै, सांसद दिलेन्द्रप्रसाद बडूले केन्द्रीय कारागारमा १ सय ५० कैदी बन्दीलाई ज्वरो आएको भन्दै त्यस विषयमा स्पष्ट बनाउन आग्रह गर्नु भएको थियो ।

कारागार व्यवस्थपन विभागका महानिर्देशक द्रोण पोखरेलले कैदीबन्दीमा ज्वरो देखिएको स्वीकार गर्दै केन्द्रीय कारागारमा १ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको बताउनु भएको थियो ।

उहाँले लक्षण भएकाहरूलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बु लैजाने तयारी भइरहेको समितिलाई जानकारी गराउनुभएको थियो । ३ हजार १ सय कैदीबन्दी रहेको केन्द्रीय कारागारमा अहिले ५२ जना सङ्क्रमित देखिएको छ । त्यस्तै, बाँकेको कारागारमा पनि आठ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

अन्य

भिडियो