८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय बाबुाविरुद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले पटक पटक बलात्कार गरेको र पीडितकी आमा माइत गएको बेला पछिल्लो पटक साउन २२ गते बलात्कार गरेको बालिकाले बताएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
‘घाँस काटेर फर्किँदा पतिले छोरीलाई बलात्कार गर्दै गरेको देखें तर पतिले यसबारे कसैलाइ भनेमा दुबैजनालाइ मारेर जेल जाने धम्की दिएपछि कतै भन्न सकेको थिइन’ पीडित बालिकाको आमाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘अत्ति भएपछि ढिलो भएपनि घटनाबारे आफन्तलाई भनें, अनि आफन्तले प्रहरीलाइ खबर गरे ।’
घटनापछि आरोपित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको र भिमकान्त जोशीले जानकारी दिनुभयो ।
यसैबीच जिल्लामा बालिकामाथि निरन्तर भइ रहेको बलात्कार र बलात्कार प्रयासका घटना न्युनीकरण गर्न जिल्ला स्थित विभिन्न संघ संस्थाले भदौ ९ गते संयुक्त विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
लकडाउनको अवधिमा १४ वटा बलात्कारका घटनामा बालिका पीडित भएको भन्दै यस्ता घटना न्युनीकरण गर्न पीडकलाई कडा कारबाही गर्नुपर्ने, तीन तहका सरकार तथा नागरिक संगठनको तर्फबाट सचेतना मुलक कार्यक्रम, अभियान तथा अनुगमन गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा इन्सेक, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित विकास समाज, बाल अधिकार संरक्षण र प्रवर्धनका लागि नागरिक समाज सञ्जालले हस्ताक्षर गरेका छन् ।
