दाङमा दक्ष जनशक्ति नहुँदा सघन उपचार सेवा सञ्चालन हुन सकेको छैन । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका आठ भेन्टिलेटर र १५ आइसीयू बेड जनशक्ति अभावमा थन्कीएका छन् ।
प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल बेलझुण्डीमा गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि पाँच भेन्टिलेटर र पाँच आइसियू बेड राखिएको छ तर उक्त सेवा दिनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा त्यहाँ आउने सङ्क्रमितसमेत बुटवल रिफर गर्नु परेको अस्पतालका सदस्य सचिव डा सर्वेश शर्माले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
जनशक्ति अभावमा उपचारका लागि आएका गम्भीर प्रकृतिका तीन जना कोरोना सङ्क्रमितलाई बुटवल रिफर गरिएको शर्माले बताउनु भयो । तीन जना मध्ये दुई निको भएर घर फर्किएका छन भने एक जना अझै बुटवलमै आइसीयूमा छन् । अहिले पनि दाङमा ४१ जना सङ्क्रमित अस्पतालमा उपचाररत छन् । उनीहरूलाई जति बेला पनि सघन उपचार आवस्यक पर्न सक्छ तर तालिमप्राप्त जनशक्ति बिना सेवा दिन नसकिने शर्माले बताउनु भयो ।

उपकरण छन् तर दक्ष जनशक्ति नहुँदा बिरामीको उपचार तत्काल सम्भव छैन, कोरोना विशेष अस्पतालका सदस्य सचिव डा सर्वेश शर्माले भन्नुभयो,– ‘सेवा सूचारु गर्न तालिम प्राप्त जनशक्ति चाहिन्छ, हामीले प्रदेश सरकारलाई माग गरि पठाएका छौं ।’ सेवा सूचारु गर्न तीन जना फिजिसिएन, दुई जना एनेष्थेशियन, पाँच जना मेडिकल अफिसर, आठ जना नर्सिङ स्टाफ, चार ल्याव टेक्निसियन, फार्मेसीलगायत तालिम प्राप्त न्यूनतम ३० जना चाहिने शर्माले बताउनु भयो । अहिले कोरोना विशेष अस्पतालमा तालिम प्राप्त जनशक्ति शुन्य छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीलाई मध्यनजर गर्दै तीन भेन्टिलेटर र १० आइसियु वेड राखिएको छ । तर उद्घाटन गर्नुबाहेक अहिलेसम्म बिरामीले उपचार पाएका छैनन । त्यहाँ पनि जनशक्ति अभावमा सेवा अवरूद्ध भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनु भयो । प्रतिष्ठानमा एक जना ऐनिष्थेशियन हुनुहुन्छ तर एकजनाले सेवा चल्दैन । प्याकुरेलले सरकारी सहयोग बिना प्रतिष्ठान एक्लैले सेवा सञ्चालन गर्न नसक्ने बताउनु भयो ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयले कोभिडकै कोषबाट जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले आर्थिक वर्ष परिवर्तन हुँदा समस्या भएको भन्दै अब छिटै जनशक्तिको व्यवस्था गरिने जनाएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले अस्थायी दरवन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भइसकेकाले प्रस्ताव स्वीकृत हुने वित्तिकै जनशक्ति उपलब्ध गराइने बताउनु भयो ।