INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्ने धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ६ गते एक विज्ञप्ति प्रकाशन गरी म्यागङ गाउँपालिका अध्यक्षलाई जनकारबाही गर्ने धम्की दिएको छ ।

अध्यक्ष तामाङले गाउँपालिकामा भ्रष्टाचार गरेको, जनविरोधी काम गरेकोले सम्पूर्ण गाउँपालिका वासीको अघि आफूले गरेको अनियमितता स्वीकार गरी जनतासामु नबुझाएको खण्डमा जनकारबाही गरिने चेतावनी जिल्ला सेक्रेटरी विन्दुले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरिएको हो ।

म्यागङ गाउँपालिकाको कार्यालयमा ०७७ वैशाख ८ गते आगजनी भएको थियो । गाउँपालिकामा भएको अनियमितता लुकाउन अध्यक्ष आफ्नै मिलेमतोमा आगजनी गरेको आरोप नेपाल कम्युनिष्ट पार्टीले लगाएको छ ।

यसैबीच, बेलकोटगढी नपा–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा भदौ ६ गते राती प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएर क्षति पुर्‍याएका छन् । २० लाख भन्दा बढीको क्षति भएको सञ्चालक तामाङले बताउनुभयो । घटनास्थलमा कारबाही गरिएको आसयको पर्चा भेटिएको तामाङले बताउनुभयो ।

आगलागीको बारेमा अनुसन्धान भइरहेको र एकजनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विष्णु फुँयालले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै गिरफ्तार गरिएको व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

अन्य

भिडियो