महेन्द्र बहुमुखी क्याम्पस दाङमा कार्यरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख दिवाकर शर्माको कार्यकक्षमा रहेका कुर्सी,टेबल र प्रशासनमा रहेको ई–हाजिरी मेसिनमा साउन २५ गते आगजनी गरेका छन् ।
क्याम्पस प्रमुख शर्मालाई कार्यकक्षबाट निकालेर उहाँ बस्ने कुर्सी, टेबुल, नेम प्लेट, हाजिरी मेसिन बाहिर ल्याएर आगजनी गरेको क्याम्पस प्रमुख शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आंशिक प्राध्यापक संघका अध्यक्ष बालकृष्ण डाँगीको नेतृत्वमा गएका प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्त गर्नुपर्ने र समान कामको समान ज्यालाको माग गर्दै आगजनी गरेको क्याम्पसले जनाएको छ ।
आन्दोलनरत प्राध्यापकहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालावन्दी गरेको आंशिक प्राध्यापक संघका अध्यक्ष बालकृष्ण डाँगीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा अध्यापन गराइरहेकाहरूलाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिहेको र माग सुनुवाइ नभएपछि ताला लगाउनु परेको संघका अध्यक्ष बालकृष्ण डाँगीले बताउनु भयो ।
दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक कार्यरत छन । माग पूरा नभए क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघले जनाएको छ ।