नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको पूर्वी कमाण्ड शैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ ।
उर्लावारी नगरपालिका–३ घरबाटै बोहरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।
गिरफ्तारीमा परेका बोहराको घरबाट कटुवा पेस्तोल एक थान, तीन राउण्ड गोली र सकेट बम बरामद भएको डिएसपी राईले बताउनुभयो । पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई ओटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हार्डडिक्स, चार ओटालगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको संयुक्त अप्रेशनका क्रममा बोहरालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका बोहरामाथि मुलुकका विभिन्न ठाउँमा भएका विष्फोटका घटना र विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोप रहेको प्रहरीले जनाएको छ ।
बोहोराको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा असार ३० गते गरिएको छ ।