इलाका प्रहरी कार्यालय सवैलाको प्रहरी हिरासतमा मृत्यु भएका सवैला नगरपालिकाका २६ वर्षीय शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर मृत्यु भएका हंसपुर नगरपालिकाका १५ वर्षीय राजु सदा घटनाका पीडित परिवारलाई न्याय र दोषीलाई कार्वाहीको माग गर्दै गरिएको प्रदर्शनको क्रममा प्रदेश २ को मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय अगाडी प्रदर्शनकारीले ढुङ्गामूडा गरेपछि प्रहरी र प्रदर्शनकारी बिच असार १८ गते झडप भएको छ ।
झडपमा रेल्वे स्टेशन प्रहरी चौकीमा कार्यरत ४५ वर्षीय असई विजयकुमार मिश्रको प्रदर्शनकारीको ढुङ्गामूडाले टाउकोमा चोट लागेको छ । मिश्रको धनुषा अस्पताल जनकपुरमा उपचार गरिएको छ ।
झडपमा प्रहरीको लाठि प्रहारबाट क्षिरेश्वरनाथ नपा–३ बस्ने २५ वर्षीय कल्याणकुमार सदाको टाउकोमा चोट लागेको छ । सदाको धनुषा अस्पताल जनकपुरमा उपचार भयो । टाउकोमा तीन वटा टाँका लगाइएको पीडित सदाले बताउनु भयो ।
झडपकै क्रममा गणेशमान चारनाथ नपा–३ बस्ने ४० वर्षीय रामचन्द्र महराको बाँया हातमा चोट लागेको छ ।
प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयको मुख्य प्रवेशद्वारबाट प्रवेश गरि तोडफोड गर्न खोजेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर र सात राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।
विरोध प्रदर्शनको अगुवाई गर्ने सवैला नपा–१२ रघुनाथपुरका २८ वर्षीय विपी साहलाई असार १८ गते मिल्स एरियाबाट जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गर्यो ।
गिरफ्तारीमा परेका साहलाई रिहाइको माग गर्दै जनकपुरको रामानन्द चोक देखि अस्पताल रोड जाने बाटोमा प्रदर्शनकारीले धर्ना दिएपछि गिरफ्तार भएको चार घण्टापछि रिहा गरिएको प्रहरीले जनाएको छ ।