१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई असार १२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरमा एक्लै भएको अवस्थामा फकाएर पोखरा घुम्न जाने प्रलोभन देखाइ जेठ २९ गते बलात्कार गरेको पीडितका बाबुले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपितविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
आरोपितलाई असार १४ गते जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला न्यायधिवक्ता प्रकाश कोइरालाले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १३ गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।