INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रशासकीय अधिकृतलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

औरही गाउँपालिकाका प्रशासकीय अधिकृत ४२ वर्षीय सन्तोषकुमार शर्मालाई उहाँकै कार्यकक्षमा असार ८ गते दिउँसो ४ बजे स्थानीय बासिन्दाहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

कार्यालयमा बसेर कार्यसम्पादन गरिरहेकै अवस्थामा १०/१२ जनाको सङ्ख्यामा आएकाहरूले प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवको मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

औरही गाउँपालिका–३ कपटौलमा प्रतिनिधिसभाका सांसद उमाशङ्कर अरगरियाको संसदीय विकास कोषको विकास बजेटबाट ५० लाखको लागतमा मण्डल केवट सेवा समितिको जग्गामा निमार्ण गर्न लागेको सामुदायिक भवनको लागि गरिएको टेण्डरमा घुस रकम माग्दै अधिकृत शर्माले लगातार तीन पटक रद्ध गरेको आरोप लगाउँदै आक्रोशित युवाहरूले प्रशासकीय अधिकृत शर्मालाई मोसो दलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा प्रशासकीय अधिकृत शर्माले चार जनाविरुद्ध असार ९ गते उजुरी दर्ता गर्नु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले धनुषा जिल्ला प्रतिनिधिलाई फोन मार्फत बताउनु भएको छ । उहाँले उजुरी परेकाहरूको नाम अनुसन्धानको क्रममा भएकोले गोप्य राखिएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरी आरोपितहरूको गाउँमा पुगेर गिरफ्तार गर्न खोज्दा स्थानीय महिलाहरूले प्रतिकार गरेकोले प्रहरी फिर्ता भएको जनता समाजवादी पार्टीका स्थानीय युवा नेता जर्नादन भण्डारीले बताउनु भयो । डिएसपी रामेश्वर कार्कीका अनुसार आरोपितहरू नभेटिएपछि खोज तलासका लागि खटिएको प्रहरी टोली फिर्ता भएको बताउनु भयो ।

यता, जनता समाजवादी पार्टी औरही गाउँपालिकाले संसदीय विकास कोषको रकममा गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव र प्रशासकीय अधिकृत शर्माले भ्रष्टाचार गर्न लागेको भन्दै २ सयको सङ्ख्यामा महिला र पुरुषहरूले जनकपुरमा नारावाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष शत्रुधन यादवले बताउनु भयो । उक्त ज्ञापन पत्रमा गाउँपालिका अध्यक्ष तथा प्रशासकीय अधिकृत मिलेर भ्रष्टाचार गर्दै आएको र संसदीय विकाशको सामुदायिक भवनको योजनामा समेत कमिसन माग्दै आएकोले विकाश योजना कार्य सम्पादन गर्न गराइदिन र यस गाउँपालिकाको आन्तरिक गतिविधिको जानकारी गराई दिनु हुन आग्रह गरिएको छ ।

अन्य

भिडियो