जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण विरोध सभामा सहभागीले प्रहरी माथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई जेठ २९ गते गिरफ्तार गरेको छ ।
सामाजिक सञ्जालबाट आह्वान गरिएको शान्तिपूर्ण प्रदर्शनका विरोध प्रदर्शनको कार्यक्रम भएपनि आयोजकको भावना विपरीत तनाव सिर्जना गराउने पोखरा महानगरपालिका–६ लेकसाइडका विमल बहादुर पहारी र प्रेम बहादुर केसीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिनुभयो ।
गिरफ्तार गरिएका पहारी नेपाल विद्यार्थी सङ्घसँग आबद्ध रहेको र उनीहरूलाई जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको इन्स्पेक्टर अधिकारीले बताउनुभयो ।
सरकारले कोरोना भाइरस रोकथाममा उल्लेखनीय रुपमा काम नगरेको भन्दै पोखरामा स्वतन्त्र युवा समूहले बिहान ११ बजेदेखि प्रदर्शन सुरु गरेको थियो ।
आयोजक स्वतन्त्र समूहकी मोनिका रानाभाटले कार्यक्रमको मापदण्ड विपरीत कार्य गर्ने उक्त युवाहरूको आयोजकसँग कुनै सम्बन्ध नरहेको बताउनुभएको छ ।