लकडाउन केही खुकुलो भएसँगै कामको लागि छिमेकी राष्ट्र भारत गएकाहरूको गृह जिल्ला भित्रिने क्रम बढ्दो छ । यसै क्रममा भारतको हरिद्वारबाट धनगढी हुँदै जेठ ९ गते तनहुँ जिल्ला आइपुगेका १६ जना अलपत्र मजदुरलाई इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेको पहलमा सहयोग प्रदान गरिएको छ ।
तनहुँ खैरेनिटारमा अलपत्र परेका म्याग्दी, बागलुङ र पर्वत जिल्लाका उनीहरूलाई जेठ १० पोखरा ल्याइ खाना खुवाइएको छ ।
तनहुँ खैरेनिटारमा अलपत्र रुपमा बसेका उनीहरूलाई इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको पहलमा कास्की र तनहुँको सिमाना पोखरा महानगरपालिका वडा नम्बर ३२ सम्म ल्याइएको थियो ।
त्यसपछि कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीलाई जानकारी गराइ अलपत्र परेका व्यक्तिहरूलाई पोखरासम्म पुर्याइदिन आग्रह गर्नुभएको थियो ।
वडाध्यक्ष कार्कीले उनीहरूलाई पोखरा महानगरपालिका–१ बगर सिमपानीसम्म पुर्याउने व्यवस्थापन गर्नुभएको थियो ।
दुई दिन सम्म भोकै रहेका उनीहरूलाई जिल्ला प्रतिनिधि घिमिरेले चलचित्र पत्रकार सङ्घ कास्कीको सहकार्यमा सिमपानीमा चालक र सह–चालक सहित १८ जनालाई खाना र खाजाको व्यवस्थापन गरी वितरण गरिएको थियो । उनीहरूलाई खाना, जुस, चाउचाउ र पानी प्रदान गरिएको थियो ।
“चार दिन लगाएर भारतको हरिद्वारबाट नेपाल प्रवेश गर्यौ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुई दिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ ”,– भारतबाट आएका एक नेपालीले भने ।
गृह जिल्लासम्म पुगेपछि आफूहरू स्थानीय तहसँग समन्वय गरेर अनिवार्य क्वारेण्टाइमा बस्ने बताए ।
अलपत्र परेकाहरूलाई घरसम्म पुर्याउनका लागि इन्सेक गण्डकी संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्त, तनहुँ जिल्ला शुल्कागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगत बहादुर गुरुङ र कास्की जिल्ला पोखरा महानगरपालिका–१ वडाअध्यक्ष शारदा पराजुली लगायतले सहजीकरण गर्नुभएको थियो ।